टेलिकमको नाफामा सामान्य गिरावट
काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब २२ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
टेलिकमको नाफा गत वर्षको भन्दा १.५२ प्रतिशतले थोरै हो । गत वर्ष यसले २ अर्ब २५ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो । टेलिकमले सेवा व्यापारबाट गर्ने आम्दानी घट्दा नाफामा सामान्य गिरावट आएको हो ।
गत वर्ष टेलिकमले सेवा व्यापारबाट ९ अर्ब ७७ करोड रुपैयाँ आम्दानी गरेकामा यसपटक घटेर ९ अर्ब ७ करोड रुपैयाँ भएको छ ।
टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी भने १ अर्ब १७ करोड रुपैयाँबाट घटेर १ अर्ब ९६ करोड रुपैयाँ भएको छ । चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको टेलिकमको रिजर्भ कोष भने झन् बलियो बन्दै गएको छ ।
यो त्रैमास सम्ममा टेलिकमको रिजर्भ कोषमा ७९ अर्ब २९ करोड रुपैयाँ जम्मा छ । गत वर्ष यसको रिजर्भ कोषमा ७७ अर्ब रुपैयाँ रहेको थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी पनि सामान्य घटेको छ । गत वर्ष ५० रुपैयाँ २२ पैसा रहेको यसको प्रतिसेयर आम्दानी अहिले थोरैले घटेर ४९ रुपैयाँ ४६ पैसामा झरेको छ । यसको प्रतिसेयर नेटवर्थ ५४० रुपैयाँ ५१ पैसा छ ।























