citizens life insurance long ad
stcnepal long ad

तिहारमा दाजुभाइको शिरमा ढाकाटोपी नभई नहुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। तिहारमा ढाकाटोपी लगाउँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारका रूपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन रहेको छ । तिहार नजिकिएसँगै बजारमा ढाकाटोपी छ्यापछ्याप्ती देखिन्छन् । अहिले सहरबजार ढाकाटोपीले ढाकिएको छ ।

विगत २५ वर्षदेखि ढाकाटोपीको व्यापार गर्दै आउनु भएका लक्ष्मी श्रेष्ठले तिहारमा दाजुभाइको शिरमा ढाकाटोपी नभई नहुने भएकाले सबैको रोजाइमा परेको जानकारी दिनुभयो । गलामा सयपत्री र मखमलीको माला, निधारमा सप्तरङ्गी टीका र शिरमा ढाकाटोपीले हरेक दाजुभाइ तिहारको दिन सजिने गर्छन् ।

ढाकाटोपी नेपाली समाजको पहिचान हो । यसलाई हाम्रो आस्थाको प्रतीक पनि मानिन्छ । त्यसैले विभिन्न चाडपर्व र कार्यक्रममा ढाकाटोपी लगाइने गरिन्छ । व्यापारी सुरेश नगरकोटीले पनि तिहारलाई ध्यानमा राखेर ढाकाटोपी बिक्री गरिरहनुभएको छ ।

उहाँले धेरै माग हुने भएकाले तिहारलाई लक्षित गरी सामान मगाएको बताउनुभयो । नगरकोटीले ढाकाटोपी १५० देखि ५० हजार रुपियाँसम्मका रहेको जानकारी दिँदै पाँच सयदेखि दुई हजार रुपियाँसम्मका टोपी बढी बिक्री हुने बताउनुभयो ।

संस्कृतिविद् एवं भाषाविद् गणेशराम लाछीले भन्नुभयो, “ढाकाटोपी नेपालीको आफ्नै चिनारी र गौरव पनि हो । ढाकाटोपी केवल शिर ढाक्ने वस्त्रका रूपमा मात्र नभएर नेपाली समाजको आफ्नै पहिचान हो ।

यो हाम्रो आस्थाको प्रतीक पनि हो । त्यसैले विभिन्न चाडपर्व, विवाह, व्रतबन्ध र सभा–सम्मेलनमा ढाकाटोपी लगाउने प्रचलन छ ।”

उहाँका अनुसार तिहारको भाइटीकामा दिदीबहिनीले दाजुभाइको शिरमा ढाकाटोपी लगाइदिने चलन अझै विद्यमान छ । यसको खास अर्थ छ । टोपीजस्तै दाजुभाइको शिर उच्च रहोस् भन्ने प्रतीकात्मक सन्देशसहित ढाकाटोपी उपहार दिइन्छ ।

ढाकाटोपी नेपालीको कला, धर्म र संस्कृतिसित पनि जोडिएको पाइन्छ । धार्मिक कार्यका दौरान निधार तथा शिर खाली राख्न हुन्न भन्ने मान्यताअनुसार नेपाली समाजमा हरेक शुभ कार्यपश्चात् ढाकाटोपी लगाउने गरिन्छ ।

संस्कृतिविद् डा. चुन्दा वज्राचार्य भन्नुहुन्छ, “तिहारको भाइटीकामा दिदीबहिनीले दाजुभाइको शिरमा ढाकाटोपी लगाइदिने चलन अझै विद्यमान छ । यसको खास अर्थ छ ।”

टोपीजस्तै दाजुभाइको शिर उच्च रहोस् भन्ने मान्यताले नै ढाकाटोपी उपहार दिइन्छ । अर्कोतिर भाइटीकामा माइतीको टाउको खाली राख्नु हुँदैन भन्ने धारणा पनि छ । यही कारण टोपी पहि(याइदिने चलन छ ।

 

IME Life
kumari