stcnepal long ad
ime life insurance
global ime bank long

लकडाउनमा गाउँका अनुभूति 

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल वैशाख ३, २०७७ बुधबार

चेतनाथ आचार्य

बिहानी चराहरुको चिरबिर आवाज नै आलार्म रहेछ। दाइ झिसमिसेमै गाई दुहुनु हुँदो रहेछ। बाले मुख धुँदा घामतिर हेरेर जप गर्नुहुँदोरहेछ। आमाले अँगारले र बाले कदमको डाँठले दाँत माझ्नु हुँदो रहेछ।

आमाले तुलसीको मोठमा सधैँ पानी चढाउनु हुँदो रहेछ। बा बिहान सात बजे सधैँ रेडियो नेपालको समाचार सुन्नु हुँदो रहेछ। आमा धुवाँमा आँखा मिच्दै भातभान्सा गर्नु हुँदो रहेछ। भाउजूले ल्याएको घाँसको भारी मैले कुनै फेसबुक र इन्स्टाग्रममा देखेको थिइँन। भाउजूले हातैले गाईको गोबर सोर्नु हुँदो रहेछ। बा खालीखुट्टै गाईबस्तुलाई खोले दिनु हुँदो रहेछ। बाले पलैटी मारेर भातखानु हुँदो रहेछ।

खानुअगाडि पानीको घेरो हालेर अप्सानी हाल्नु हुँदो रहेछ। मलाई काठमाडौँमा घिउ पठाउनका लागि बाआमा दूध खान लोभ गर्नु हुँदो रहेछ। भात खाइसके पछि बाले कुकुरलाई पनि अलिकति दिनु हुँदो रहेछ। बा–आमा र दाजुले खाएपछि मात्र भाउजूले भात खानु हुँदो रहेछ।

छोराछोरी राम्रो चित्र बनाउँदा रहेछन्। आमाको अनुहार मुजैमुजा परेर चाहुरिएको रहेछ। बारीमा धाँजा फाटेजस्तो बाका पैताला चिरैचिरा परेका रहेछन्। आमाको कपाल काँस जस्तै सेतै फुलेको रहेछ।

मध्यान्हमा मौरी घारबाट बाहिर निस्कदोरहेछ। बाआमा दिउँसो भुटेको मकै खानुहुँदोरहेछ। बिरालाले मुसा ल्याएर मझेरीमा खेलाउँदोरहेछ। भुङ्ग्रोमा पोलेको आलु मिठो हुँदोरहेछ।

मलाई स्विटर बुन्ने दिदीका हात चरचरी फुटेका रहेछन्। आमाको मजेत्रो ठाउँ ठाउँमा टालिएको रहेछ। उद्रिएको चोलो आमा आफैँ सिउनु हुँदो रहेछ।

छिनेको चप्पलको फितामा डोरी बाँधेर भाउजूले लगाउनु भएको रहेछ। बाले महाभारत पढ्दा लगाउने चस्माको बिँड भाँचिएकाले तारले बान्नु भएको रहेछ। आमा रातभर ख्वाङ ख्वाङ खोक्नु हुँदो रहेछ। बा रातमा चार पाँच पटक लघुशंका गर्न निस्कनु हुँदो रहेछ।

prabhu mahalaxmi
kumari