आजबाट एभरेष्ट बैंकको ऋणपत्र बिक्री खुला
काठमाडौं । आज माघ ३ गतेदेखि एभरेष्ट बैंकले ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले २० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १२ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ८ लाख युनिट सर्वसाधारणका लागि खुला गरेको छ ।
यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ४० हजार इकाई पाउनेछन् । सर्वसाधारणले बाँकी ७ लाख ६० हजार युनिटका लागि आवेदन दिन सक्नेछन् ।
यस ऋणपत्रमा वार्षिक ८.५प्रतिशत ब्याजदर पाइनेछ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्नेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।
बैंकले ८ वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यपिटलले गरेको छ ।
यो ऋणपत्रलाई रेटिङ एजेन्सी कियर नेपालले न्यून कर्जा जोखिम जनाउने ‘कियर एनपी एए माइनस’ रेटिङ दिएको छ । यो ऋणपत्रमा छिटोमा माघ ६ गते सम्म आवेदन दिन सकिनेछ ।
त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने माघ १७ गतेसम्म भर्न सकिनेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।






















