एनआईसी एशिया बैंकका कर्मचारीद्वारा पैसा चोरी
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका कर्मचारीको मिलेमतोमा एनआइसी एसिया बैंकको लाखौँ रुपैयाँ चोरी भएको पाइएको छ ।
महानगरीय प्रहरी परिसरका अनुसार उक्त बैंकको नगद संकलक काठमाडौंको काँडाघारी बस्ने प्रदीप खत्रीसहितका चार व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खोलेको छ ।
खत्रीले काठमाडौं महानगरपाकिला–१० को कार्यालयबाट रु. १२ लाख ४५ हजार र मेट लाइफ इन्योरेन्स शान्तिनगरबाट तीन लाख पचासी हजार गरी रु. १६ लाख ३० हजार बैंक दाखिला गर्न जाने क्रममा लुटपाट भएको भनी प्रहरीमा सूचना प्राप्त भएको थियो । सो घटना गत पुस १८ गतेको हो ।
सोही आधारमा प्रहरी वृत्त बानेश्वर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीबाट अनुसन्धान गर्दा खत्रीमाथि शंका लागेपछि पक्राउ परेका थिए ।
उनीमाथिको अनुसन्धानमा मिलेमतोमा उक्त नगद चोरी गरी भागबण्डा गरेको फेला परेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका छन ।
प्रहरीले चोरीमा सङ्लग्न खत्रीसहित ललितपुर धापाखेल बस्ने वर्ष २४ को विमल तामाङ, रामेछाप घर भइ ललितपुर बस्ने राज पौडेल र अनिश खड्कालाई पक्राउ गरेको जनाएको छ ।
उनीहरूले सबै पैसा भागबण्डा लगाएर बाँडेको फेला परेको जानकरी दिँदै प्रहरीले अहिलेसम्म १३ लाख ४६ हजार फेला परेको र दुई लाख ८२ हजार भने खर्च गरेको खुलेको जनाएको छ ।


























