चिनियाँ ईभी बजारमा बीवाईडीको दबदबा कायमै, लिपमोटरको नयाँ रेकर्ड
काठमाडौं । चिनियाँ अटोमोबाइल बजारमा अक्टोबर २०२६ मा पनि बीवाईडीले आफ्नो अग्रता कायम राखेको छ । अक्टोबर महिनामा बीवाईडीले विश्व बजारमा ४ लाख ८३ हजार १२५ युनिट प्यासेन्जर कार बिक्री गर्दै पहिलो स्थान हासिल गरेको हो ।
दोस्रो स्थानमा रहेको जिलीले २ लाख १४ हजार ९९६ युनिट बिक्री गरेको छ । बीवाईडीको बिक्रीमा डाइनास्टी र ओसन सिरिजको योगदान सबैभन्दा धेरै रहेको छ ।
यी दुई सिरिजले मात्रै ४ लाख २३ हजार ८४३ युनिट बिक्री गरेका छन् । त्यस्तै, फाङचेङबाओले ४३ हजार ८७२, डेन्जाले १५ हजार १५२ र याङवाङले २५८ युनिट बिक्री गरेका छन् ।
जिलीको कुल बिक्रीमा जिली ग्यालेक्सीको योगदान १ लाख ५३ हजार ३८५ युनिट रहेको छ । त्यस्तै, जिकरले ३२ हजार ४८३ र लिंक एन्ड कोले १८ हजार ५२१ युनिट बिक्री गरेका छन् ।
अक्टोबरमा लिपमोटरले १ लाख ६ हजार १२७ युनिट डेलिभरी गरेको छ । कम्पनीको यो बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५०.९९ प्रतिशतले बढी हो । लगातार चौथो महिना १ लाखभन्दा बढी गाडी डेलिभरी गर्दै लिपमोटरले नयाँ रेकर्ड बनाएको छ ।
एक्सपेङले पनि पहिलोपटक एक महिनामा ५० हजार युनिटभन्दा बढी गाडी डेलिभरी गरेको छ । कम्पनीले अक्टोबरमा ५० हजार २३७ युनिट गाडी ग्राहकलाई हस्तान्तरण गरेको हो । यो अघिल्लो वर्षको तुलनामा १९.६ प्रतिशत र अघिल्लो महिनाको तुलनामा २१.८ प्रतिशतले बढी हो ।
त्यस्तै, साओमीले अक्टोबरमा ५० हजारभन्दा बढी गाडी डेलिभरी गरेको छ । चांगनको नेभो ब्रान्डले ६३ हजार ६४८ युनिट बिक्री गर्दा ग्रेटवाल मोटरले ४९ हजार ४९९ युनिट नयाँ इनर्जी भेहिकल बिक्री गरेको छ ।


























