महालक्ष्मी विकास बैंकको वित्तीय विवरण सार्वजनिक
काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आफ्नो नाफामा उल्लेख्य वृद्धि गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा ११ करोड ८४ लाख ६७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४९ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ९ करोड ७५ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) मा समेत सुधार देखिएको छ। गत वर्षको पहिलो त्रैमासमा ९ रुपैयाँ ८ पैसा रहेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १० रुपैयाँ ५० पैसा पुगेको छ।
बैंकले निक्षेप परिचालन र कर्जा विस्तारलाई पनि निरन्तरता दिएको छ। समीक्षा अवधिमा बैंकले ग्राहकबाट ५५ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निक्षेप ५५ अर्ब ९ करोड रुपैयाँ रहेको थियो। त्यस्तै, बैंकले ४३ अर्ब ९५ करोड रुपैयाँ कर्जा तथा सापटी प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा ४३ अर्ब ३४ करोड रुपैयाँ रहेको कर्जा लगानी यस वर्ष बढेको हो।
बैंकको कुल सम्पत्तिमा समेत वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६५ अर्ब ५ करोड रुपैयाँ रहेको कुल सम्पत्ति चालु आर्थिक वर्षको समीक्षा अवधिमा बढेर ६५ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको कुल सेयरधनी कोष ७ अर्ब ५२ करोड रुपैयाँ कायम भएको छ।
बैंकको खुद ब्याज आम्दानी ५१ करोड ४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ५० करोड १९ लाख रुपैयाँ थियो। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ५८ करोड ५८ लाख रुपैयाँ रहेको छ भने सञ्चालन नाफा १७ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ७३ पैसा पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो सूचक १६५ रुपैयाँ ४२ पैसा रहेको थियो। यद्यपि, बैंकको निष्क्रिय कर्जा अनुपात भने गत वर्षको ५.५० प्रतिशतबाट बढेर ६.४९ प्रतिशत पुगेको छ।


























