पृथ्वीनारायण दिवशका अवसरमा विदा नदिए आन्दोलन गर्ने
काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले सरकारले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको ३००औं जन्मजयन्तीमा सार्वजनिक विदा नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
काठमाडौंको संवाद डबलीमा मोर्चाले पत्रकार सम्मेलन गरेर नेपालको मौलिक धर्म संस्कृति र इतिहासलाई मेटाउन देशी विदेशी तत्वहरु लागेको आरोप समेत लगाएको छ ।
मोर्चाका संयोजक तारानाथ लुइँटेलले बाइसे र चौबिसे गण राज्यहरुलाई एकीकरण गरेर आजको नेपाल निमार्ण गरेका वडामहाराजाधिराज पृथ्वीनारायण शाहको अस्तित्व मेटाउन लाग्ने वर्तमान शासकहरुलाई नछाड्ने चेतावानी दिएका छन् ।
भर्खरै नेकपा (माओवादी केन्द्र) को महाधिवेशनले वैदिक सनातन धर्म विरुद्ध आपत्तिजनक निर्णय गरेको जुन बहुसंख्यक हिन्दु धर्मावलम्बीहरुलाई सहय नहुने बताउँदै भने,“खबर्दार १
प्रचण्ड हामीलाई होम, पुराण, यज्ञ गर्न नदिने निर्णयले हाम्रो स्वाभिमानमाथि ठेस पुगेको छ, यसको दुष्परिणमको भागिदार हुन तयार हुनु ।”
अध्यक्ष लुइँटेलले माओवादी केन्द्रको आठौं महाधिवेशनमा कार्यकर्तालाई धर्मसंस्कृति विरुद्ध कासन गर्ने प्रचण्ड र उनको पार्टी देशका निम्ति घातक भएको आरोप लगाएका छन् ।
लुइँटेलले हरेक देशको आफ्नो धर्म हुने विषयको स्मरण गराउँदै नेपाल पशुपतिनाथ र गौतम बुद्धको देश भएकोले यसको विश्वमा पृथक पहिचान रहेकोले त्यसलाई मेटाउन खोज्नेहरु देश द्रोही भएको बताएका छन।
मोर्चाका सह–अध्यक्ष विष्णु भट्टराईले आजको स्वाधीन नेपाल राजा पृथ्वीनारायणको कारणले भएको र विश्वमा पनि यसको पहिचान उनकै देनबाट स्थापित भएकोले उनको जन्मजयन्तीलाई भव्यताका साथ मनाउनु पर्ने माग राखेका छन् ।
पत्रकार सम्मेलनमा मोर्चाकी प्रवक्ता सिर्जना वाग्लेले भनिन्,“जनताले सडकबाट समेत बडामहाराजधिराज पृथ्वीनारणको सम्मानमा राष्ट्रिय एकता दिवसका दिन विदा तथा जन्मजयन्ती उत्सवकारुपमा मनाउन माग गर्दा पनि सुन्दैन, बरु गौरवशाली इतिहास मेटाउन खेज्दैछन्, तिनीहरुलाई जनताले छाड्ने छैनन् ।”
उनले अगाडि भनिन्,“हाम्रो स्वाभिमानी इतिहास मेटाउन खोज्नेहरुको पनि अस्तित्व मेटाउने दिन नआवोस् ।” पत्रकार सम्मेलनमा सनातन संस्कृति समाजका अध्यक्ष हरिबोल भट्टराई, मोर्चाका राष्ट्रिय संयोजकद्वय शेखरजंग रायमाझी, शोभाराम थापा, विश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारी, मोर्चाका सहमहामन्त्रीद्वय स्यामसुन्दर बलामी र केशव ढुङगाना लगायत विभिन्न संघरसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


























