गरिमा विकास बैंकले २४ करोड नाफा कमायो
काठमाडौँ । गरिमा विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २४ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा यस्तो देखाएको हो ।
तर, उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४.१७ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको सोही अवधिमा २५ करोड ५ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा बैंकले १ खर्ब १ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको निक्षेप ९८ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो।
यसअनुसार बैंकको निक्षेप संकलन करिब ३.११ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकले ८० अर्ब २२ करोड रुपैयाँ कर्जा तथा सापटी प्रवाह गरेको छ। गत वर्षको सोही अवधिमा ७८ अर्ब ७३ करोड रुपैयाँ रहेको कर्जा लगानी यस वर्ष करिब १.९ प्रतिशतले विस्तार भएको हो।
बैंकको कुल सम्पत्ति पनि बढेर १ खर्ब १५ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब १३ अर्ब ६ करोड रुपैयाँ रहेको कुल सम्पत्तिमा यस वर्ष करिब १.९ प्रतिशतको वृद्धि देखिएको छ।
बैंकले समीक्षा अवधिमा १ अर्ब ८२ करोड १७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ भने खुद ब्याज आम्दानी ९२ करोड ८ लाख रुपैयाँ पुगेको छ।
यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ५० पैसा रहेको छ। प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ३८ पैसा कायम हुँदा इक्विटीमा प्रतिफल ९.१५ प्रतिशत र सम्पत्तिमा प्रतिफल ०.८४ प्रतिशत रहेको छ। त्यस्तै, बैंकको आधार दर ५.१८ प्रतिशत र कर्जा कोषको लागत ३.४६ प्रतिशत कायम भएको छ।
बैंकको कर्जा तथा निक्षेप अनुपात ८४.१८ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा अनुपात ४.८१ प्रतिशत कायम भएको छ।


























