दसैंमा सहकारीले बेच्छन् एक करोड रुपैयाँका खसीबोका
गलकोट । दसैं–तिहार नजिकिएसँगै च्याङ्ग्रा, खसीबोका जोहो गर्न थालिएको छ । बाग्लुङको एक गाउँमा दसैं र तिहारका लागि बिक्री गर्न एक हजार खसी बोका तयार गरिएका छन् ।
नजिकिँदै गरेको दसैँ तिहारलाई लक्षित गरी काठेखोला गाउँपालिका–४ तंग्रामका महिलाहरुले एक हजार खसी बोका बिक्रीका लागि तयार गरेका हुन् ।
तंग्रामका दुई सहकारीमा आवद्ध महिलाले खसीबोका बिक्रीबाट वार्षिक दुई करोड रुपैयाँ भित्र्याउँदै आएका छन् । जसमध्ये दसैं–तिहारमा मात्रै करिब एक करोड रुपैयाँका खसीबोकाको कारोबार गर्दै आएका छन् ।
तंग्राममा सञ्चालित सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी संस्था र वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थामा आवद्ध महिलाले सहकारीमार्फत विगत ६ वर्षदेखि बाख्रापालन व्यवसाय गर्दै आएका छन् ।
दसैं तिहारका लागि सप्तरंगी सहकारीले ३९५ र बसन्त सहकारीले ६०० खसीबोका गरी जम्मा ९९५ खसीबोका बिक्रीका लागि तयार भएका जनाएका छन् ।
दसैं तिहार नजिकिएसँगै अहिले बागलुङ बजारमा धमाधम खसीबोका बिक्रीका लागि पठाउन थालिएको बसन्त सहकारी संस्थाका प्रबन्धक हेमा विकले जानकारी दिए ।
वर्षभरिमा हाम्रो खसीबोकाको बढी व्यापार दसैं तिहारमा हुन्छ’, विकले भने, ‘गाउँमा उत्पादन भएका खसीबोका सहकारीमार्फत बजारीकरण गरिन्छ, कुल कारोवारमध्ये आधा कारोबार दसैं तिहार लक्षित हुने गरेको छ ।’
दुई सहकारीमा आबद्ध महिला सेयर सदस्यले उत्पादन गरेका खसीबोका सहकारीमार्फत बागलुङ बजारमा बिक्री गरिँदै आएको सप्तरंगी सामाजिक उद्यमी महिला सहकारीका प्रबन्धक मनकुमारी पुनले जानकारी दिइन् ।
दुवै सहकारीले आफ्ना सदस्यहरुको खसीबोका प्रतिकेजी ४५० रुपैयाँमा संकलन गर्ने र ४५५ रुपैयाँमा बिक्री गर्ने गरेका छन् । प्रतिकिलो जम्मा पाँच बढी लिएर सदस्यहरुका उत्पादन संकलन गरी बजारमा लगेर बिक्री वितरणको व्यवस्था गरिएका कारण उत्पादन गर्ने महिलालाई सहज भएको छ । सहकारीका सेयर सदस्यमध्ये एक वर्षमा ५ देखि ३० सम्म खसीबोका उत्पादन गर्दै आएका सप्तरंगी सामाजिक उद्यमी महिला सहकारीका प्रबन्धक पुनले बताइन् । रासस





























