चितवनमा एकैदिन १०८ जनामा कोरोना संक्रमण पुष्टि
चितवन । चितवनमा एकैदिन ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार रातिसम्म भरतपुर अस्पताल प्रयोगशाला र चितवन मेडिकल कलेजमा गरिएको परिक्षण नतिजामा चितवनका ७५ सहित १ सय ८ जनामा संक्रमण पुष्टि भएको हो ।
पुष्टि भएकामध्ये भरतपुर महानगरका मात्रै ४९ जना रहेका छन् । रत्ननगरको एक उद्योगका ३७ जना मजदुर सहित ३८ जनामा संक्रमण देखिएको छ । खैरहनी नगरपालिकाका २ जना पनि संक्रमित भएका छन् ।
त्यसैगरी राप्ती नगरपालिकामा एकजना संक्रमित छन् । चितवनमा मात्रै संक्रमितको संख्या ६ सयको नजिक पुगेको छ । शनिवारको परिक्षणमा तनहुँ, झापा, नवलपुर, सर्लाही, दाङ, सुर्खेत, वाग्लुङ, वारा लगायत जिल्लाका पनि संक्रमित छन् ।
उनीहरुको स्वाब पनि चितवनका विभिन्न अस्पतालमा लिइएको थियो । संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न पनि समस्या पर्न थालेको छ ।


























