citizens life insurance long ad
stcnepal long ad

पानीको मूल्यमा संसदीय समितिले थाल्यो छानबिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जारको पानीको मूल्य बढाउने निर्णय गरेसँगै संसदीय समितिले चासो दिएको छ ।प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मूल्य बढाउनुको कानुनी आधार लगायत सबै डकुमेन्ट मगाएर छानबिन थालेको छ ।

विभाग स्वयंले केही पानी उद्योगमा निरीक्षण गरेर तयार पारेको प्रतिवेदनमा प्रतिजार औसत बिक्री मूल्य २५ रुपैयाँ भनिएको छ । तर सर्वसाधारणका लागि अधिकतम मूल्य (एमआरपी) ५० रुपैयाँ तोकेपछि समितिले छानबिन सुरु गरेको हो ।

‘पानीको बढी मूल्य तोकिएको सन्दर्भमा समितिले छानबिन गरिरहेको छ,’ समिति सभापति विमलप्रसाद श्रीवास्तवले भने । मूल्यमा एकरूपता ल्याउने भन्दौ विभागले असार २५ मा कार्यदल गठन गरेको थियो । कार्यदलले करिब २१ वटा पानी उद्योगको स्थलगत निरीक्षण गरेको थियो । हाल सर्वसाधारणले एक जार पानी खरिद गर्दा औसतमा ३५ रुपैयाँदेखि ४० रुपैया तिर्दै अएका छन् ।

विभागले खुद्रा मूल्य ४० रुपैयाँ नै रहेको र एमआरपी ५० रुपैयाँ निर्धारण गरिएको दाबी गरे पनि उपभोक्ता ठगिने सम्भावना उच्च रहेको जानकार बताउँछन् । समिति सचिव झलक शर्माले पनि के आधारमा पानीको मूल्य तोकिएको हो, जवाफ मागिएको बताए । एमआरपी मूल्य ५० तोक्नु जायज नभएको उनको भनाइ छ ।

‘पानीको मात्रै होइन, सुन, नुन, कपडालगायत सबै वस्तुको मूल्य तोक्नुपर्छ । कुन कानुनले दिएको हो, त्यसको आधार मागिएको छ,’ उनले भने, ‘बजारमा जारको पानी ३० देखि ३५ रुपैयाँमा पाइन्छ ।’ समितिको अध्ययनपछि मात्र आवश्यक निर्देशन दिइने उनले बताए । ‘निषेधाज्ञा नखुलेसम्म बैठक बस्ने अवस्था भएन,’ शर्माले भने ।

विभागले जारको पानीको एमआरपी मूल्य भदौ १० देखि लागू गर्ने जनाएको थियो । कोभिड–१९ का कारण सरकारले निषेधाज्ञा जारी गरेपछि नेपाल बोटल वाटर उद्योग संघको अनुरोधमा विभागले कार्यान्वयन गर्ने समय एक साता थपेको छ ।

संसदीय समितिको निर्देशनपछि थप प्रक्रिया बढाइने वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता रवीन्द्र आचार्यले बताए । ‘समितिले छानबिन गर्दै छ, प्रतिवेदनरकागजात पठाएका छौं, आवश्यक परे कर्मचारीसँग पनि छलफल गर्ने समितिले बताएको छ,’ उनले भने, ‘समितिको निर्देशनअनुसार अघि बढ्छौं ।’ विभागले ०७३ सालको मापदण्डअनुसार मूल्य घटाएको बताउँदै आएको छ ।

त्यस बेला तत्कालीन वाणिज्य मन्त्रालयका सचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बैठकले जारको पानीको मूल्य ६० रुपैयाँ तोक्ने बताएको थियो । तर बजारमा जारको पानी सस्तो भएकाले मूल्य कार्यान्वयन भएन । अहिले कार्यदलले सोही निर्णयअनुसार १० रुपैयाँ घटाएर ५० रुपैयाँमा झरेको भन्दै त्यसैलाई प्रगति ठानेको छ । आजको कान्तिपुर दैनिकबाट

IME Life
kumari