नेपाल फाइनान्सले ८ वर्षको एजीएम एकैपटक बोलायो
काठमाडौं । नेपाल फाइनान्सले ८ वर्षको वार्षिक साधारण सभा भदौ ११ गते बोलाएको छ । कम्पनीले यसअघि नभएका २० औं देखि क्रमशः २७ औं वार्षिक सभा एकै पटक गर्न लागेको हो । सभा एल्लो प्यागोडा होटल, कान्तिपथ काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले हाल कायम पुँजीबाट १७५% हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पेश गर्दैछ ।
त्यस्तै, अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने, गाभिने प्रकृया अघि बढाउन सञ्चलक समितिलाई अख्तियारी दिने एजेन्डा पनि रहेको छ ।
सभामा आर्थिक वर्ष २०६८/६९ देखि २०७५/०७६ सम्मको अर्थात ८ आर्थिक वर्षको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह लगायतको विषयमा पनि छलफल हुँदैछ ।
आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरिक्षक नियुक्त गर्ने र कम्पनीको नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गर्दैछ । साउन २५ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

























