बैंकहरूको मुनाफा ६.२७ प्रतिशतले वृद्वि
काठमाडौं । बीस वटा वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८१/८२ को साउन र भदौ दुई महिनामा १७ अर्ब ६९ करोड २१ लाख १० हजार रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा २० वटा वाणिज्य बैंकहरूको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२७ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको मुनाफा १६ अर्ब ६४ करोड ८६ लाख ९० हजार रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंक स्रोतका अनुुसार चालु आर्थिक वर्ष दुई महिनामा सबैभन्दा धेरै नाफा नबिल बैंकले आर्जन गरेको छ । यस अवधिमा नबिल बैंकको मुनाफा एक अर्ब ६६ करोड आठ लाख ९० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नबिल बैंकको यस्तो मुनाफा एक अर्ब ५६ करोड ४५ लाख ५० हजार रुपैयाँ थियो ।
यो अवधिमा दोस्रो धेरै मुनाफा आर्जन गर्ने बैंकहरूको सूचीको दोस्रो स्थानमा ग्लोबल आईएमई बैंक रहेको छ । ग्लोबल आइएमई बैंकले एक अर्ब ५६ करोड ६१ लाख १० हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
षत आर्थिक वर्षको यही अवधिमा ग्लोबल आइएमई बैंकको मुनाफा एक अर्ब ७५ करोड ५८ लाख ६० हजार रुपैयाँ रहेको थियो ।
तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले एक अर्ब ४१ करोड २८ लाख ९० हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस बैंकले एक अर्ब ४८ करोड ६५ लाख ७० हजार रुपैयाँ नाफा कमाएको थियो ।
यसैगरी चौथो स्थानमा हिमालयन बैंकले पनि गत साउन र भदौ महिनामा एक अर्ब १६ करोड ८१ लाख ७० हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा हिमालयन बैंकले एक अर्ब २३ करोड २४ लाख ८० हजार रुपैयाँ कमाएको थियो ।
यस्तै पाँचौ स्थान कुमारी बैंकले कायम राखेको छ। यस बैंकले पनि चालू आर्थिक वर्षको पछिल्लो दुई महिनाको अवधिमा एक अर्ब आठ करोड ५० लाख आठ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुमारी बैंकको यस्तो मुनाफा एक अर्ब १४ करोड ५३ लाख २० हजार रुपैयाँ थियो ।
राष्ट्र बैंक स्रोतका अनुसार यी पाँच वटाबाहेक अन्य वाणिज्य बैंकहरूको नाफा भने एक अर्ब रुपैयाँभन्दा तल रहेको छ । नेपाल बैंक लि को नाफा ६७ करोड ८२ लाख २० हजार रुपैयाँ रहेको पाइएको छ ।
यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको पहिलो दुई महिनामा नेपाल बैंकले ७० करोड ७१ लाख ४० हजार रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ८७ करोड पाँच लाख १० हजार रुपैयाँ कमाएकोे थियो ।
चालू आर्थिक वर्षको भदौ मसान्तसम्म स्टान्डर्ड चार्टर्ड बैंक लि। ले ६० करोड ६२ लाख ९० हजार रूपैयाँ र नेपाल एसबीआई बैंक लि।ले ५३ करोड ३९ लाख ३० हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा स्टान्डर्ड चार्टर्ड बैंकको मुनाफा ४८ करोड ४५ लाख २० हजार रूपैयाँ र नेपाल एसबीआई बैंकको मुनाफा २७ करोड २९ लाख ७० हजार रुपैयाँ रहेको थियो ।
यस्तै एभरेष्ट बैंक लि।, एनआईसी एसिया र माछापुच्छ्रे बैंकले क्रमशः ८२ करोड ५५ लाख ४० हजार रूपैयाँ , ५७ करोड ७५ लाख ८० हजार रूपैयाँ र ३९ करोड २४ लाख ७० हजार रुपैयाँ मुनाफा कमाएका छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा यी तीन वटा बैंकहरूको नाफा क्रमशः ७१ करोड २५ लाख ९० हजार, ८० करोड पाँच लाख ५० हजार र ३७ करोड ६३ लाख ८० हजार रुपैयाँ थियो ।
यसैगरि लक्ष्मी सनराइज बैंक लि।, सिद्धार्थ बैंक र कृषि विकास बैंक लि।ले चालु आर्थिक वर्षको साउन र भदौ दुई महिनामा क्रमशः ८६ करोड ४६ लाख, ६० करोड ५६ लाख ७० हजार र ८८ करोड ७० लाख आठ हजार रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा भने यी बैंकहरूको मुनाफा क्रमशः ८१ करोड ४० लाख नौ हजार, ५८ करोड ६५ लाख ८० हजार र ६१ करोड ५६ लाख ३० हजार रुपैयाँ थियो ।
यस्तै सिटिजन्स बैंक इन्टरनेसनल , प्राइम कमर्सियल बैंक र एनएमबी बैंकले क्रमशः ५८ करोड ९८ लाख ६० हजार, ९७ करोड ४६ लाख ९० हजार र ७८ करोड दुई लाख १० हजार रुपैयाँ मुनाफा कमाएका छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा यी बैंकहरूले क्रमशः ४४ करोड ३१ लाख ७० हजार, ६३ करोड ६५ लाख ५० हजार र ७६ करोड ७० लाख तीन हजार रुपैयाँ मुनाफा आर्जन गरेका थिए ।
प्रभु बैंक लि।र सानिमा बैंकले पनि चालु आर्थिक वर्षको साउन र भदौ दुई महिनामा क्रमशः ९१ करोड ३२ लाख ५० हजार र ६८ करोड ९२ लाख ८० हजार रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा भने प्रभु बैंकले ६६ करोड ४१ लाख ७० हजार रुपैयाँ र सानिमा बैंकले ५१ करोड २० लाख नौ हजार रुपैयाँ मुनाफा कमाएका थिए ।























