रोयल इन्फिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल ४ नोभेम्बरमा सार्वजनिक गर्ने
काठमाडौं । रोयल इन्फिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले यसको मिति पनि खुलासा गरेको छ ।
सो मोटरसाइकल नोभेम्बर ४, २०२४ मा सार्वजनिक गर्ने भएको छ । साथै कम्पनीले सो इलेक्ट्रिक मोटरसाइकलको पहिलो टिजर पनि सार्वजनिक गरेको छ । सो टिजरमा एक मोटरसाइकललाई प्यारासुटको सहायताले अन्तरिक्षबाट तल झरेको देखाइएको छ ।
कम्पनीले सो इलेक्ट्रिक मोटरसाइकलसँग सम्बन्धित कुनै पनि विवरण साझा गरेको छैन । कम्पनीले सो मोटरसाइकल सार्वजनिक गर्ने भनिएको मिति कम्पनीका लागि उपयुक्त समय मानिएको छ ।
तर, यसको डिजाइन, फिचर, रेन्ज र मूल्यले बजारमा यसको भविष्य निर्धारण गर्नेछ। कम्पनीका लागि अर्को ठुलो फाइदा भनेको ओलाको पहिलो इलेक्ट्रिक मोटरसाइकल अघि नै लन्च गर्न लागेको हो ।
रोयल इन्फिल्डको इलेक्ट्रिक मोटरसाइकलको डिजाइन यसअघि पनि लीक भएको थियो । यसको च्यासिस डिजाइन पूर्णतया नयाँ हुनेछ ।
यसमा र्याक–आउट फ्रन्ट एन्ड, स्कूप(आउट सोलो स्याडल र खुला, झुकेको फेन्डर फिचर हुन सक्ने सम्भावना छ । इन्धन ट्याङको लुपिङ फ्रेमले मोटरसाइकल धेरै फरक देखिने अनुमान गरिएको छ ।
सो इलेक्ट्रिक मोटरसाइकलमा ब्याट्री प्याकलाई फ्रेमको रूपमा प्रयोग गर्न सकिने अनुमान गरिएको छ । यसमा ब्याट्री कभर र मोटर दुवै वरिपरि फिट गर्न सकिन्छ।
बाइकको दायाँ छेउमा बेल्ट ड्राइभ हुन सक्छ र दुबै छेउमा डिस्क ब्रेक हुनेछ। यसमा स्विङआर्मको माथिल्लो एलिमेन्टसँग जोडिएको मोनोशक हुनेछ ।
सो इलेक्ट्रिक मोटरसाइकलको मुख्य आकर्षण फ्रन्ट सस्पेन्सन सेटअप हो, जहाँ गर्डर फोर्कहरू देख्न सकिन्छ ।
योसँगै कम्पनीले आफ्नो नयाँ ६५० सीसी स्क्र्याम्बलर सार्वजनिक गर्ने सम्भावना छ, जसलाई इन्टरसेप्टर बियर ६५० नाम दिइएको छ ।























