ओलीको नौटङ्की, यान्छीको दौड र प्रचण्डको छप्ल्याङ
खेम थपलिया
ओली–प्रचण्ड प्रा.लि.मा यतिबेला घरवाला र डेरावालाको लुछाचुँडीको रमिता छ । इन्द्रबहादुर राईले उतिबेलै ‘आज रमिता छ’ उपन्यास लेखेका थिए ।
नेपालमा हिजो आज डबल नेकपाको रमिता चलिरहेछ । यो रमिता भारतीय तेश्रो श्रेणीको कुनै चलचित्रभन्दा कम छैन । त्यही रमितामयी सामाजिक फासिवादी दलाल राजनीतिको राजनीतिको पिरो धुँवाले जनताले आँखासम्म खोल्न सकेका छैनन् ।
बालुवाटारका नाइकेको आदेश मुताविक पञ्चायती व्यवस्थाको अन्ततिर भएका पञ्च–रयालीजस्तै सडकमा ओली–रयालीको आयोजना चलिरहेछन् । दलाल संसदीय राजनीतिले मानव जीवनले कल्पनासम्म पनि गर्न नसक्ने र नसकेका कुरा आज नेपाली समाज भोग्न बाध्य छ ।
यो विवशताकारी कहरका जननी मरणासन्न दलाल संसदीय व्यवस्था र तिनका नाइकेहरूको कलाहीन र भद्दा नाटक दिनदिनै प्रदर्शन भइरहेका छन् ।
नेपाली राजनीतिमा केपी ओली दम्भी, अहङ्कारी, अभिमानी र नौटङ्की पात्रका रूपमा परिचित छन् । उनी आफ्नो गुटको रहेछ भने हजार अपराध पनि देख्दैनन् तर अर्को गुटको रहेछ भने आङको जुम्रा पनि देख्छन् । ओलीमा ‘आफ्नो आङको भैंसी नदेख्ने, अरूको आङको जुम्रा’ उखान चरितार्थ हुन्छ ।
ओली आफ्नै पार्टीका अर्का अध्यक्ष प्रचण्डका विरुद्ध ‘भारतीय दलाल मुर्दावाद’ को नारा लगाउन आफ्ना निकटका युवा–विद्यार्थीलाई उक्साइरहेका छन् । उनी नेपालमा गणतन्त्रका कट्टरविरोधी पात्रका रूपमा पनि परिचित छन् । नेपालमा गणतन्त्र आउनु र बयलगाडा चढेर अमेरिका जानु उस्तै उस्तै कुरा भन्ने ओली अहिले अरूले लडेर, भिडेर र मरेर ल्याइदिएको गणतन्त्रको हर्ताकर्ता बनेका छन् ।
ओलीको कुर्सी उनी आफैँले माक्र्सवादलाई हलाल गरेर गाडिएको चिहानमाथि खडा छ । भनिन्छ, उनैले आफ्नै पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको हत्याको प्रतिवेदन गायब पारेका थिए । उनी नेतृत्वको पार्टी जनघात र राष्ट्रघातको पर्याय बनेको छ ।
उनको पार्टी तलदेखि माथिसम्म भ्रष्ट, तस्कर, गुण्डा र दलालहरूले भरिएका छन् । उनले राष्ट्रपति विद्या भण्डारीलाई पार्टी–नेताजस्तो बनाएका छन् । उनी दिउँसो भारतको विरोध गर्दछन्, राती राती आफ्ना प्रिय गोकुल बास्कोटालाई पटक–पटक भारतीय राजदुतावास धाउन लगाउँछन् ।
ओली भारतसित झुक्दिनँ भनेर सार्वजनिक रूपमा बोल्छन् तर उही भारतसित अकूत पैसा ल्याएर मदन भण्डारी फाउन्डेसन चलाउँछन् । ओलीलाई भ्रष्टाचारीहरूले समेत भ्रष्टाचारी भन्न थालेपछि विषयको गम्भीरतालाई सहजै अनुमान लगाउन सकिन्छ ।
यसो सोच्छु, ओलीको नौटङ्की देखेर छेपारोले पनि हार मान्दो हो ! शक्ति लम्सालले आफ्नै औँला काटेर निकालेको रगतबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए । उनले आफ्नै बाबुलाई जेल हाल्छु भनेर सार्वजनिक रूपमै सामन्तवादका विरुद्ध विद्रोह बोलेका थिए ।
के हामी समकालीन नेपाली कम्युनिस्ट राजनीतिमा यस्तो आदर्शको सम्भावना देख्छौँ ? गोपनीयताको झन् के कुरा गर्नू ! नेपालको क्याबिनेटको बैठकका निर्णय तुरुन्ताका तुरुन्तै भारतीय राजदुतावास तथा नयाँ दिल्ली पुरयाइन्छ । यतिसम्म भएको बताइन्छ ।
नेपालका परराष्ट्र मन्त्री चीन जानुअघि निर्माण गरिनुपर्ने सम्झौता दस्तावेज सिंहदरबार भित्र तयार गर्दा गोपनीयता भङ्ग हुने डरले काठमाडौंको कुनै एक होटलमा अत्यन्त गोप्यरूपमा सो दस्तावेज तयार पारिएको थियो रे ! सिंहदरबार–बालुवाटार भारतीय र पश्चिमा एजेन्टद्वारा भरिभराउ छ ।
विज्ञहरू भन्छन्– ओलीको कथित राष्ट्रवाद ‘भाङ्ग्राको टोपीलाई गुँयलाको फूल’ जस्तै हो । घरवाला ओलीको चर्चासँगै डेरावाला प्रचण्डको पनि प्रसङ्ग आइहाल्छ । प्रचण्डले पटक–पटक भन्ने गरेको प्रसङ्ग हो– कुलोमाथि काङ्ग्रेस र कुलोमुनि कम्युनिस्ट ।
प्रचण्ड भन्थे, “मेरो घर कुलोमाथि भएको भए म काङ्ग्रेस हुन्थेँ, कुलोभन्दा तल घर भएको हुनाले कम्युनिस्ट भएको हुँ किनभने कुलोभन्दा माथि काङ्ग्रेसीहरूको र कुलोभन्दा तल कम्युनिस्टहरूको गाउँ थियो ।” नेताकै दिमागमा यस्ता कुरा भएपछि प्रतिक्रान्ति नभए अरू के हुन्छ त !
प्रचण्डकै नेतृत्वमा जनयुद्धमा जित–हारका विशाल शृङ्खला खडा भएका थिए । कम्युनिस्ट भएर पनि बिरालोले नुन चाटेजस्तो राजनीति गर्न थालेपछि हुने यस्तै यस्तै त होला ! भनिन्छ नि– जितको बेला प्रतिक्रान्ति चाकरी र चाप्लुसी गरेर आउँछ, हारको बेला प्रहार र आलोचना गर्दै आउँछ ।
फ्रान्सेली दार्शनिक भोल्तेयरले एक सन्दर्भमा भनेका थिए, “हे भगवान् ! मलाई मित्रहरूबाट बचाऊ, मेरा दुश्मनहरूको सामना गर्न म आफैँ सक्षम छु ।” कम्युनिस्टको आबरणमा ओली–प्रचण्डले विप्लवले नेतृत्व गर्नुभएको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको राजनीतिक प्रतिबन्धको सन्दर्भमा भोल्तेयरको उक्त अभिव्यक्ति निकै मार्मिक लाग्दछ । अरूको बुइँ चढेर आफ्नो उचाइ बढेको ठान्नु ठूलो भ्रम हो ।
वाम–विश्लेषकहरूले यदाकदा डबल नेकपाको अष्टावक्राकृतिको चर्चा गरेको सुनिन्छ । डबल नेकपाले राष्ट्रवादको नाममा राष्ट्रघात गरिरहेको छ । उसले माक्र्सवादको झन्डा बोकेर माक्र्सवादकै हुर्मत लिइरहेको छ । ऊ स्वाधीनता र स्वाभिमानको नाममा प्रतिक्रियावादी तथा साम्राज्यवादीसामु लम्पसार परिरहेको छ ।
ऊ राष्ट्रिय स्वरूपका नाममा सबैका सिद्धान्त र दर्शनलाई मिसाएर चना–चटपटे बनाउन उद्यत छ । उसले जनता र देशको सेवाका नाममा अवसरवाद र व्यक्तिवादलाई धुरीमा चढाइरहेको छ आदि ।
भनिन्छ, प्रचण्डले चुनबाङ बैठकमा स्तालिनमाथि हमला गरेका थिए, जसको परिणाम अहिले विभिन्न स्वरूपमा देखिँदै छ । भनिन्छ, सैद्धान्तिक र वैचारिक रूपमा मान्छे स्खलित भएपछि ऊ सिङ तिखार्न थाल्दछ । डबल नेकपामा अहिले त्यही सिङ तिखार्ने प्रतिस्पर्धा चलिरहेको छ ।
सिङ तिखार्दै सुरु भएको गुटहरूको महाभिडन्तका बिचमा दौड सुरु भएको छ– चिनियाँ राजदूत होउ यान्छीको । नेपालको सत्तारुढ पार्टीमा देखिएको अन्तरविरोधलाई चीनले गम्भीरताका साथ लिनु भनेको अब चीनलाई परम्परागत आँखा हेर्नुहुँदैन भन्ने सन्देश पनि हो ।
यस्तै दौड केही महिनाअघि पनि देखिएको थियो, जसले डबल नेकपाको तत्कालीन खड्को टरेको थियो । यसपटक चाहिँ भन्न सकिने अवस्था छैन ।























