राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको स्थापना दिवस सम्पन्न
काठमाडौं । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थको १६औं स्थापना दिवस निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलकोे प्रमुख आतिथ्यतामा मंगलबार विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।
अतिरिक्त महानिरीक्षक पौडेलले स्थापना दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरू तथा प्रशिक्षकलगायत प्रतिष्ठानलाई सहयोग पु¥याउने विभिन्न संघ संस्थाका महानुभावलाई कदरपत्र, पुरस्कार र प्रशंसापत्र प्रदान गरेका थिए ।
अतिरिक्त महानिरीक्षक पौडेलले दक्ष जनशक्ति उत्पादन गर्न प्रशिक्षण प्रतिष्ठानको भूमिका उल्लेखनीय रहेको बताउँदै समयानुकूल परिमार्जित पाठ्यक्रमनुसार सञ्चालन हुने तालिमहरूमा समेत प्रतिष्ठान अझ बढी सक्रियताका साथ लागिरहने विश्वास व्यक्त गरे ।
अतिरिक्त महानिरीक्षक पौडेलले विभिन्न आधारभूत तथा उन्नत तालिममार्फत पेसागत ज्ञान, सीप र नेतृत्व विकास गरी अधिकृत तथा जवानहरूलाई संगठनको कार्यादेशबमोजिम सबल र सक्षम बनाउँदै आइरहेको चर्चा गर्दै विभिन्न इकाइमा सञ्चालन हुने तालिममा दक्ष प्रशिक्षक उत्पादनमा समेत प्रशिक्षण प्रतिष्ठानको योगदान प्रशंसनीय रहेको बताए ।
कार्यक्रममा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरीले स्थापना दिवस मनाउने कार्यले सशस्त्र प्रहरी कर्मचारीहरूमा हौसला वृद्धि भएको बताए ।

























