परिवारसँग दसैं मनाउने सपना विमानस्थल परिसरभित्रै ढल्यो
दोहा । चाडबाडका बेला जोकोही परदेशीमा पनि घर पुग्ने र परिवारसँगै दसैं मनाउने सपना हुन्छ । तर, त्यो सपना राजकिशोरप्रसाद चौरसियाको हकमा भने लागू भएन ।
बाराको महागढी–६ घर भएका चौरसिया मलेसियाबाट नेपाल फर्किनेक्रममा त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै अचानक ढले र उनको मृत्यु भयो ।
उनी अध्यागमन विभागबाट चेकआउट मेमो बनाएर नेपाल फर्कनेक्रममा अचानक ढलेको र केही क्षणमै मृत्यु भएको भन्ने खबर मलेसियास्थित नेपाली दूतावासलाई प्राप्त भएको दूतावासका द्वितीय सचिव तथा सूचना अधिकारी प्रेमबहादुर बुढथापाले जानकारी दिए ।
उनको सार्वजनिकस्थलमा मृत्यु भएकाले शवलाई मलेसियन प्रहरीले पोस्टमार्टमका लागि अस्पताल लगेको सूचना अधिकारी बुढथापाले बताए ।
उनी करिब ४ वर्ष त्यहाँको मलेसियन हार्भेस्ट एसडीएन बीएचडी नामक कम्पनीमा सरसफाइको क्षेत्रमा काम गर्न आएकामा केही महिनाअघि मात्र कम्पनी छाडेर गैरकानुनी रूपमा काम गर्दै आएका थिए ।
गैरकानुनी रूपमा रहेका उनी नेपाल फर्कनका लागि केही दिनदेखि क्वालालम्पुर कोतराया आसपास क्षेत्रमा बसोबास गर्दै आएका थिए । नेपाल पठाउने एक नेपाली एजेन्टसँग सम्पर्क गरी सबै कानुनी प्रक्रिया पूरा गरेर क्वालालम्पुर–काठमाडौं उडानमार्फत स्वदेश फर्किन उनी विमानस्थल पुगेका थिए ।
विमानस्थल परिसरमै अचानक बेहोस भई भुइँमा ढलेपछि विमानस्थलका कर्मचारी, चिकित्सक र स्थानीय प्रहरीसमेतले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको बताइएको छ ।
मृतकको शव पोस्टमार्टमपछि परिवारलाई सम्पर्क गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाउने तयारी थालिएको दूतावासले जनाएको छ ।
मलेसियामा पनि हरेक दिन एक न एक नेपालीको मृत्यु हुने गरेको छ । नेपालको भन्दा भिन्न हावापानी, कामको दबाब, बसोबासको बन्दोबस्त त्यति राम्रो नभएको, परिवारबाट टाढा बस्दाको तनाव र थोरै पैसामा गुजारा चलाउनुपर्ने जस्ता कारण पनि मृत्यु हुने नेपाली कामदारको संख्या बढेको पाइन्छ । आजको राजधानी दैनिकमा समाचार छ ।

























