citizens life insurance long ad
stcnepal long ad

जापानसँग नेपाल ८-० ले पराजित

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । १९ औँ एसियाली खेलकुद, अन्तर्गत महिला फुटबलमा नेपाल जापानसित पराजित भएको छ। आज साँझ भएको खेलमा नेपाल जापानसित ८–० गोलअन्तरले पराजित भएको हो।

जापानसित पराजित भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ। महिला फुटबलमा नेपालले जापानसित पहिलो पटक खेलेको हो।

समूह डी मा रहेको नेपालको यो लगातार दोस्रो पराजय हो। जापानले खेलको तेस्रो मिनेटमै अग्रता लिएको थियो।

खेलको १३औँ मिनेटमा जापानले दोस्रो गोल गरेको थियो। यस्तै खेलको २७औँ मिनेटमा जापानका लागि मेमी युनोले तेस्रो गोल गरिन्। यस्तै खेलको ३०औँ मिनेटमा जापानकी रेइना वाकिसाकाले चौथो गोल गरिन्।

खेलको ३६ औँ मिनेटमा जापानकी हाकुरा ओसावाले गोल गर्दै जापानलाई ५(० गोलको फराकिलो अग्रता दिलाइन्।

जापानले दोस्रो हाफमा नेपालविरुद्ध थप तीन गोल गरेको थियो। खेलको ५८ औँ मिनेटमा जापानका लागि कोटोनो साकाकीबराले छैटौँ गोल गरिन्। यस्तै खेलको ७४ औँ मिनेटमा ओसावाले व्यक्तिगत दोस्रो गोल गर्दै जापानलाई ७–० गोलको अवस्थामा पुर्‍याइन।

यसैगरी खेलको इन्जुरी समयमा जापानका लागि हाजिकाताले गोल गर्दै आफ्नो टोलीलाई ८–० गोलअन्तरको जित दिलाइन्। जापानले पहिलो खेलमा बङ्गलादेशलाई पनि ८–० गोलअन्तरले पराजित गरेको थियो।

यसअघि समूह चरणको पहिलो खेलमा शुक्रबार नेपाल भियतनामसित पराजित भएको थियो। नेपाल भियतनामसित २–० गोल अन्तरले पराजित भएको थियो।

नेपालले पहिलो हाफमा भियतनामलाई गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने दुई गोल खान पुगेको थियो। समूह डी मा रहेको नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा छ।

लगातार दोस्रो जितपछि जापान ६ अङ्क जोडेर समूह डी को शीर्ष स्थानमा छ। यस्तै भियतनाम दोस्रो स्थानमा तथा बङ्गलादेश अङ्क तालिकाको पुछारमा रहेको छ।

नेपालले समूह चरणको अन्तिम खेल यही असोज ११ गते बङ्गलादेशसित खेल्ने छ।

IME Life
kumari