म्याद गुज्रेका सामान बेच्ने पसललाई १ लाख रुपैयाँ जरिबाना

काठमाडौँ । अनुगमन समिति कास्कीले पोखरामा बजार अनुगमन गरेको छ । आज सोमवार अनुगमनका क्रममा समितिले पोखरा महानगरपालिका–७ वाईचोकमा रहेको मीनबहादुर शेरचन स्टोर्सलाई १ लाख रुपैयाँ जरिबाना गरेको छ ।
स्टोर्सले म्याद गुज्रेका सामान बिक्री गरी उपभोक्तामाथि ठगी गरेको भन्दै समितिले जरिबाना तोकेको हो ।
स्टोर्सबाट ५ लिटर १२ ग्यालिन तोरीको तेल ‘लेबलिङ’ नभएको, मिट मसला २ प्याकेट, चिकेन क्रेकर १० कार्टुन, चिजबल १५ प्याकेट लगायतका झन्डै २९ हजार रुपैयाँ बराबरको म्याद गुज्रेका सामान नष्ट गरेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी एवम् अनुगमन समितिले जनाएको छ ।
त्यसैगरी दालको लेबल नलगाएको, नुनको गोदाममा सरसफाइ नगरेको भन्दै समितिले चेतावनी पनि दिएको छ । स्टोर्सका सञ्चालक दीपक शेरचनलाई कागजपत्र लिएर ३ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन समितिले निर्देशन दिएको छ ।
अनुगमनकै क्रममा पोखरा–३ पालिखे चोकमा रहेको गौरव ट्रेडर्सबाट म्याद गुज्रेका १८ किलो रङ्गीन डुम्री, नरिवल, ललिपापड लगायतका सामग्री नष्ट गरी १० हजार रुपैयाँ जरिबाना गरेको गरिएको छ ।
त्यसैगरी पालिखे चोकमै रहेको रेशमलाल श्रेष्ठको पसलमा अनुगमन गरी म्याद गुज्रेका ११ किलो सुजी नष्ट गरी पसलको बोर्ड राख्न र दर्ता नवीकरण गरेर मात्र सञ्चालन गर्न समितिले निर्देशन दिएको छ । यो पसललाई समितिले ५ हजार रुपैयाँ जरिबाना तोकेको छ ।
यी पसललाई पनि उपभोक्ता हित संरक्षण ऐनको दफा ३८ बमोजिम सम्पूर्ण कागजपत्रसहित ३ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन समितिले निर्देशन दिएको छ ।
८ असोज २०८०, सोमवार २१:३४ बजे प्रकाशित