सत्तारुढ नेकपाको गठन प्रकृया र अन्तर्सङ्घर्ष- एक समीक्षा:
भक्ति प्रसाद लामिछाने
(१) तात्कालिक लोकतान्त्रिक मुद्दाहरु र भावी कार्यदिशावारे पार्टीको कार्यकर्ता तहसम्म छलफल नगरी पार्टी एकता गर्ने मामिलामा दुवै पक्षको नेतृत्वपङ्क्ति चुके।
(२) एउटा राजनीतिक पार्टीमा दुई जना कार्यकारी अध्यक्ष राख्ने मामिलामा दुवै पक्षको केन्द्रिय समिति र निर्वाचन आयोग चुक्यो ।
(३) पार्टीको दैनिक कार्य सञ्चालनमा सहयोग पुर्याउन गठित सचिवालय हुदाहुदै दुई जना अध्यक्षलाई वैठकको प्रस्ताव तयार गर्न र विवाद मिलाउने जिम्मा दिनु त्रुटिपूर्ण भएको छ ।
(४) तत्कालीन ने. क. पा. ( एमाले) का अध्यक्ष एवम प्रधानमन्त्रीकेपी शर्मा ओली र ने. क. पा. ( माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल दुवैमा विधि पध्दतिभन्दा आफू माथि रहेको भावयुक्त कार्यशैली विद्यमान रहनु रुपान्तरण हुन नसकेको पक्ष हो।
(५) प्रधानमन्त्रीको दायित्वसमेत निर्वाह गरिरहनुभएका अध्यक्ष ओलीले २०७७ बैशाख पहिलो साता पार्टीसङ्ग छलफल नै नगरी मन्त्रीपरिषदको सिफारिशमा राष्ट्रपतिबाट जारी गराइएको दुई अध्यादेश एवम सत्तारुढ पार्टी, सभामुख र विपक्षी दलसङ्ग समेत परामर्श नगरी बजेट अधिवेशन अन्त भएको सूचना मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति मार्फत जारी गराउनुमा प्रधानमन्त्री चुकेका छन।
(६) पार्टी केन्द्रिय समितिको वैठकद्वारा गठित एमसीसी परियोजना सम्बन्धि अध्ययन कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनलाई वेवास्ता गरी उक्त परियोजना संसदबाट पारित गराउन प्रधानमन्त्री खड्गप्रसाद ओली लागि पर्नु दलीय प्रणालीको मान्यताविपरितको हर्कत हुन गएको छ ।
(७) पार्टीको स्थायी समितिको वैठकमा प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा माग्नु राजनीतिक स्थिरतालाई अस्थिरतामा बदल्ने अभिप्राय देखियो ।
(८) पूर्व माओवादी केन्द्र सम्वद्व अन्य नेतृत्व पङ्क्तिलाई सधैभर प्रचण्डको वरिपरि मात्र केन्द्रित रहोस भन्ने भावना सहित स्वतन्त्र अभिव्यक्ति दिदा पनि विचलित भयो भन्ने खालको चर्चा चलाउनु सङ्कीर्ण दृष्टिकोण बन्न गएको छ ।
(९) सचिवालय सदस्य क. बामदेव गौतमको सत्तालिप्सा र अस्थिर स्वभाव भद्दारुपमा प्रकट हुनु लज्जाको विषय भएको छ ।
(१०) प्रधानमन्त्रि केपि शर्मा ओलीलाई सत्ताबाट हटाउन पाइदैन भनेर सडकमा नारा जुलुश गर्ने जस्तो भद्दा व्यबहारले दुनियामै देशको साख गिरेको छ । पार्टी र सरकार विधिमा चल्न अवलम्बन गर्नुपर्ने उपायहरु:-
(क) प्रधानमन्त्रि ओलीले पार्टीको वैठकमा आत्मालोचना सहित प्रस्तुत भै पार्टी निर्णयानुसार अघि बढ्ने प्रतिवध्दता जाहेर गर्नुपर्ने, सार्वजनिकरुपमा आएका हल्का अभिव्यक्ति वारे सार्वजनिक रुपमा आत्मालोचना गर्नुपर्ने, अभिव्यक्ति चाहि प्रधानमन्त्रीको दायित्व वहन गरेका ओलीको हुने तर साख चाहि देशको गिर्ने अवस्थालाई गम्भीररुपमा लिइ सच्च्याउनु पर्दछ र निकै कम बोल्ने बानीमा रुपान्तरण हुनुपर्दछ ।
(ख) दुवै पदबाट एकैचोटि राजीनामा दिन माग गर्ने विषय त्रुटिपूर्ण भयो भनेर राजीनामा माग्ने पक्षले आत्मालोचना गर्नुपर्ने
(ग) एमसीसीको वारेमा पार्टीद्वारा गठित अध्ययन कार्यदलको प्रतिवेदन अनुसार अघि बढ्ने प्रतिवध्दता प्रधानमन्त्रिले जाहेर गर्नुपर्ने ।
(घ) निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्नको लागि कार्ययोजना तर्जुमा गरी घनीभूतरुपमा त्यसमा केन्दृत हुनुपर्ने । (ङ) एकव्यक्ति एकपदको मुद्वा महाधिवेशनद्वारा अनुमोदन गराउने अभियान अघि बढाउनुपर्ने ।
(च) तात्कालिक पार्टी दस्तावेज र सम्विधान प्रतिकुल नआएका कसैको अभिव्यक्तिलाई लिइ विचलित भयो वा विक्यो भन्नेजस्ता गम्भीर आरोप लगाउन नपाइने विधि अवलम्बन गर्नुपर्ने ।
(छ) सुशासनको आधारभूत सन्देश दिने गरी भ्रष्टाचारको छानवीनको लागि संवैधानिक आयोगको सिफारिस र नागरिकबाट आएको सूचनालाइ सम्वोधन गर्न पार्टीभित्रै पनि छानवीन आयोग गठन गरी दोषी ठहरिएकालाई आवश्यक विधि पुर्याइ कारवाहीको दायरामा ल्याउनुपर्ने ।





















