stcnepal long ad
ime life insurance
national life
global ime bank long

मौद्रिक नीतिको प्रभाव

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

मौद्रिक नीति मुद्रा व्यवस्थापनसँग सम्बन्धित हुन्छ । केन्द्रीय बैङ्कले जारी गर्छ । यसरी नै सरकारले वित्त नीति जारी गरेको हुन्छ । वित्त नीतिले राजस्व, आम्दानी, खर्च जस्ता विषयसँग बढी सरोकार राख्छ भने मौद्रिक नीति मुद्रा व्यवस्थापनसँग जोडिएको हुन्छ । भिन्न भिन्न प्रकृतिको भए पनि मौद्रिक नीतिले वित्त नीतिलाई र वित्त नीतिले मौद्रिक नीतिलाई सहयोग गर्छ । दुवै नीति राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित भएकाले राष्ट्रिय विकासमा यिनीहरूको ठुलो भूमिका हुन्छ ।

आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति विगत वर्षका भन्दा अलि फरक किसिमबाट आएको छ । पहिलो कुरो यो नीति असार महिनामै ल्याइएकाले बैङ्क तथा वित्तीय संस्थालाई आगामी आवका नीति तथा कार्यक्रम निर्माण गर्न सजिलो हुने भएको छ । मौद्रिक नीतिले सबै क्षेत्रलाई सम्बोधन गरेकाले अपेक्षित उपलब्धि प्राप्त हुने सम्भावना बढी छ ।

जनताको पैसा कसरी संरक्षण, सुरक्षित र परिचालन गर्ने भन्ने नै मौद्रिक नीतिको उद्देश्य हुन्छ । मौद्रिक नीतिले जनतासँग भएको पैसालाई बैङ्क तथा वित्तीय संस्थामार्फत पैसाको अधिकतम सुरक्षा गरी उत्पादनशील क्षेत्रमा प्रवाह गराउने कार्य गरेको हुन्छ । बैङ्क तथा वित्तीय संस्थामा जनताले राखेको पैसा राज्यको होइन । जनताको हो र यसलाई राज्यले नियमन गर्ने पनि होइन । नेपाल राष्ट्र बैङ्कले मुद्राको व्यवस्थापकीय कार्य गरेको हुन्छ । जनताले नेपाल राष्ट्र बैङ्कप्रति बढी विश्वास र भरोसा गरेका हुन्छन् ।

वित्त नीति राजनीति प्रभावमा चल्न पनि सक्छ । मौद्रिक नीति विशुद्ध विशेषज्ञबाट सञ्चालन भएको हुन्छ । मौद्रिक नीतिका आफ्नै सीमा र मान्यता हुन्छन्, जसका आधारमा विशेषज्ञले नीति निर्माण गर्छन् । लामो समयदेखि अर्थतन्त्र मन्द गतिमा भएकाले यसलाई गतिदिनु आवश्यक नै थियो ।

यो मौद्रिक नीतिले सबै क्षेत्रलाई समेटेकाले सन्तुलित देखिन्छ । त्यसैले अर्थतन्त्रमा सुधार आउन सक्छ । अहिले बाह्य क्षेत्र सकारात्मक भए पनि आन्तरिक अर्थतन्त्रमा सुधार आउन सकेको छैन । समग्र बजारमा माग बढ्न नसकेको हुनाले मौद्रिक नीतिले आर्थिक गतिविधिमा सुधार ल्याउन र कर्जाको माग वृद्धि गर्न यो मौद्रिक नीतिमा विभिन्न व्यवस्था गरिएको छ ।

धेरैअघिदेखि सेयर बजार र घरजग्गामा मन्दी आएकाले ठुलो रकम फसेको थियो । अहिले भने यो मौद्रिक नीतिले निकै राहत दिएको छ । बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने ब्याजदर ०.५ देखि ०.२५ प्रतिशतसम्म घटाएको हुनाले कर्जाको माग बढ्ने वातावरण बनेको छ । बैङ्क तथा वित्तीय संस्थामा निक्षेप घट्न सक्ने सम्भावनातिर भने मौद्रिक नीतिको ध्यान गएको देखिँदैन । निक्षेपको ब्याजदर तल झर्दा पुँजी पलायन हुने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा अर्थतन्त्रमा जोखिम आउन सक्छ ।

घरजग्गा कर्जालाई व्यक्तिको हकमा दुई करोडबाट तीन करोड पुर्‍याइएको छ भने सेयर कर्जाको सीमामा पनि वृद्धि गरिएको छ । पुँजी कोषको सम्बन्धमा पनि आवश्यक सम्बोधन गरेर पुँजी कोष बढाउन सकिने व्यवस्था गरेको पाइन्छ ।

साथै गैरबैङ्किङ सम्पत्तिलाई पनि पुँजीमा गणना गर्न सकिने प्रावधान राखिएको छ । सेयर मार्जिन कर्जाको सीमा पनि १५ करोडबाट २५ करोड पुर्‍याइएको छ । यो व्यवस्थाले पुँजी बजारमा ठुलो योगदान पुर्‍याउने अपेक्षा गर्न सकिन्छ । कृषि, लघु, मझौला उद्योग र साना व्यवसायका लागि १० लाखसम्म कर्जा सजिलोसँग प्रवाह हुने भनिएकाले साना उद्योगी व्यवसायी पनि लाभान्वित हुने छन् । यसरी मार्जिन प्रकृतिको कर्जाको सीमा बढाउँदा सेयरको माग र मूल्य पनि बढ्ने छ ।

सानो स्केलमा कार्य सञ्चालन गर्ने भए पनि अहिले नेपाली जनताको घरदैलोमा पुगेर वित्तीय साक्षारता उपलब्ध गराउने काम लघुवित्त वित्तीय संस्था नै हुन् । यिनीहरूको आर्थिक अवस्थामा सुधार नगरी भुइँमान्छेको जीवनस्तरमा सुधार ल्याउन नसकिने हुनाले कर्जा सदुपयोग गर्न लक्षित वर्ग, ऋण प्राप्त गर्ने मापदण्ड आदिमा पुनरवलोकन गरिने मौद्रिक नीतिमा उल्लेख भएको छ । यसरी मौद्रिक नीतिले तलैदेखि आर्थिक सुधारका लागि जग राखेको देखिन्छ ।

लघुवित्त वित्तीय संस्थाहरूले १५ प्रतिशतसम्म नगद वा बोनस दिन सक्ने नियन्त्रित व्यवस्थालाई मौद्रिक नीतिमा पुनरवलोकन गर्ने भनिएको छ । यो प्रावधानले राम्रो मुनाफा कमाएका संस्थाले १५ प्रतिशतभन्दा बढी लाभांश दिन सक्ने हुन्छन् । यसबाट सेयरधनी बढी लाभान्वित हुन सक्छन् ।

अर्थतन्त्रमा सुधार ल्याउन  नेपाल जस्ता  अति कम विकसित देशमा विदेशी लगानी अपरिहार्य नै हुन्छ । विदेशी लगानी भिर्‍याउने सम्बन्धमा वाणिज्य बैङ्कमार्फत विनिमय जोखिम व्यवस्थापन गरिने भनिएकाले बाह्य लगानी आउने देखिन्छ ।

यसका लागि विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ संशोधन गरिने भनिएबाट विदेशी लगानी आउने सम्भावना बढेको छ । अहिलेसम्म निकै झन्झटिलो अनुभव गरिएको साँवाब्याज तथा लाभांश फिर्ता भुक्तानी लैजाने व्यवस्थामा यस मौद्रिक नीतिले सहज वातावरण निर्माण गरेको देखिन्छ ।

यो मौद्रिक नीतिले सानो तहदेखि ठुलासम्मलाई सम्बोधन गरेको देखिन्छ । राजमार्गमा सञ्चालित साना रेस्टुराँलाई समेत तीन करोडसम्म कर्जा उपलब्ध गराइने भनिएको छ । त्यस्तै गरी ऊर्जामा दिने कर्जाको ब्याजदर पनि सहज गर्ने भनेको छ । यसरी मौद्रिक नीति कर्जा उपलब्ध गराउने निकै लचिलो छ ।

अहिले विश्वमा नै अर्थतन्त्र तुलनात्मक रूपमा कमजोर भएकाले यसमा सुधार ल्याउन सबै मुलुकले खुकुलो मौद्रिक नीति अवलम्बन गरेका छन् । अन्तर्राष्ट्रिय जगतसँग मेलखाने गरी नेपाल राष्ट्र बैङ्कले खुकुलो मौद्रिक नीति लिनुलाई स्वाभाविक रूपमा लिनु पर्छ ।

यो मौद्रिक नीतिले आन्तरिक उत्पादनमा वृद्धि, स्वरोजगारलाई प्रोत्साहन र औद्योगिक वातावरण निर्माण गरेको छ । तीन लाखसम्मको कर्जालाई विपन्न वर्गको कर्जामा गणना गरिने प्रावधानले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान पुग्ने छ । महिलाको हकमा यस्तो कर्जा बढीमा पाँच लाखसम्म हुन सक्ने मौद्रिक नीतिमा उल्लेख छ ।

विगतमा ल्याइएका भन्दा यो मौद्रिक नीति अलि फरक किसिमले आएकाले सबै क्षेत्र खुसी छ । यसले अर्थतन्त्रमा आएको शिथिलतालाई ध्यान दिई विभिन्न व्यवस्था गरेको छ । बैङ्क तथा वित्तीय संस्थामा थुप्रिएको पैसालाई चलायमान बनाउन कर्जाको ब्याजदर घटाइएको छ । घट्दै गएको ब्याजदर अझै घट्ने भएकाले ऋण प्रवाह वृद्धि हुने छ । जसबाट उद्योग शिथिल अवस्थाबाट गति लिन सक्ने अवस्थामा पुग्ने छन् ।

देशका दुर्गम स्थानमा बैङ्क विस्तार गर्ने, एउटै केवाइसी फारामले सबै ठाउँमा काम गर्ने जस्ता सामान्य कुरामा सुधार गर्न सके पनि जनतालाई ठुलो राहत हुन जान्छ । बाह्य लगानी भित्र्याउने भनी जसरी सहज रूपमा लिइएको छ, त्यो मुस्किल छ । झन्झटिला प्रशासनिक प्रक्रियाबाट अपेक्षित उपलब्धि हासिल गर्न कठिन नै हुन्छ ।

सजिलोसँग कर्जा उपलब्ध गराइने भनिए पनि त्यति सजिलो देखिँदैन । किनभने घरजग्गा नहुने तर व्यवसाय सञ्चालन गर्न चाहनेलाई कठिन हुने छ । धितो राख्न सक्नेलाई मात्र कर्जा लिन सहज हुने छ । धितो राख्न नसक्नेलाई भने फलामको चिउरा चपाउनुसरह हुने छ । खराब कर्जा दोहोरो अङ्कमा पुगी सकेकाले बैङ्क तथा वित्तीय संस्था कर्जा प्रवाह गर्न चाहिरहेका छैनन् ।

नेपाल जस्ता अल्पविकसित मुलुकमा विदेशी मुद्रालाई दुर्लभ वस्तु मानिएको हुन्छ । यो मौद्रिक नीतिले यसलाई स्वीकारेको देखिँदैन । जो कोही विदेश जान तीन हजारको सटही सुविधा सहजै प्राप्त गर्न सक्छ । यो प्रावधानले विदेशी मुद्राको अभाव सिर्जना हुनेमा मौद्रिक नीतिको ध्यान गएको देखिँदैन ।

अहिले वित्त नीति अलि खुकुलो देखिन्छ । मौद्रिक नीति पनि सबैलाई खुसी नै पार्ने किसिमको छ । बजेट केही हदसम्म वितरणमुखी छ भने मौद्रिक नीति पनि बढी उदार भयो भन्ने आलोचना छ । लोकप्रिय हुन यसरी बजेट र मौद्रिक नीति ल्याइँदा अर्थतन्त्रमा समस्या आउनेमा ध्यान पुगेको देखिएन ।

घरजग्गाको कर्जाको सीमा दुई करोडबाट तीन करोड पुर्‍याउनु र नपुर्‍याउनुमा खासै असर पर्ने थिएन तर पनि बढाइएको छ । यस्तै गरी व्यक्तिलाई दिइने सेयर कर्जाको सीमालाई पनि १५ करोडबाट बढाएर २५ करोड पुर्‍याउनुको खासै अर्थ छैन ।

हुने खाने थोरै लगानी कर्ताले यो सुविधा लिन सक्ने छन् । धेरै लगानीकर्ता वञ्चित हुने देखिन्छन् । कर्जाको सीमा बढाउँदा कर्जाको सही प्रयोग नभई लगानी अन्य क्षेत्रमा दुरुपयोग हुने सम्भावना पनि त्यत्तिकै छ ।

चालुगत खर्चले पुँजीगत खर्चलाई ओझेलमा पारेको अवस्थामा छ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भन्न पनि सकिँदैन किनभने थोरै पुँजीगत बजेट पनि खर्च हुन नसकेको अहिलेको अवस्था छ ।

आव २०८२/८३ को मौद्रिक नीतिलाई सबै क्षेत्रबाट राम्रो भनिए पनि मुख्य कुरो कार्यान्वयनमा भर पर्छ । अहिले पनि बैङ्क तथा वित्तीय संस्थामा ७० खर्बको हाराहारीमा तरलता थुप्रिएको छ । लगानीयोग्य रकम पनि सात खर्बभन्दा बढी छ ।

बैङ्क ब्याजदर पनि घट्दै गएको छ । यद्यपि कर्जा प्रवाह हुन सकेको छैन । यस्तो अवस्थामा पुनः ब्याजदर घटाउँदैमा लगानी बढ्छ भन्न सकिन्न । जे होस् मौद्रिक नीतिले सबै पक्षलाई समेटेकाले रामै नतिजा उपलब्ध गराउने छ भन्ने आशा भने गर्न सकिन्छ ।

IME Lifesidebar
kumari