stcnepal long ad
global ime bank long

बैङ्क र बिमाको सेयरमा लगानी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

माघ महिनाका लागि वाणिज्य बैङ्कले तोकेको ब्याजदरमा प्रायः सबै बैङ्कले पुरानै ब्याजदरलाई निरन्तरता दिएको अवस्था छ । हाल भएको तरलताको सही र समुचित उपयोग हुन नसकेको र कर्जा प्रवाह बढाउन हम्मेहम्मे परेको अवस्था र गएको कर्जा असुलीमा पनि समस्या भोगिरहेका बैङ्क हाल आफ्नो आर्थिक स्वास्थ्य सुधारका लागि ऋण असुलीमा नै केन्द्रित भएकाले पनि ब्याजदरमा खासै उतार चढाब नदेखिएको हुन सक्छ ।

त्यसै गरी निक्षेपको ब्याजदर निकै कम भइसकेको अवस्थाले पनि ब्याजदर बढाउँदा थप तरलता बढ्ने भएकाले पनि ब्याजदर स्थिर नै राखेको जस्तो देखिन्छ । अब बजारमा मनग्य तरलता हुँदाको वर्तमान अवस्था अनि सेयर कर्जामा ब्याजदर पनि न्यून भएको वर्तमान परिस्थितिमा पनि सेयर बजारमा किन उछाल आएन भन्ने प्रश्न टड्कारो रूपमा उठ्ने गर्छ । बजार लामै समयदेखि ‘साइडवेज’ अवस्थामै रहेको छ ।

बजार केही अङ्क माथि जाने बित्तिकै फाइनान्स, विकास बैङ्क, लघुवित्त, जलविद्युत् समूहको सेयरको बजार मूल्य एकाएक उकालो लाग्ने गरेको देखिन्छ । सेयर बजारका पुराना र अनुभवी लगानीकर्ता भने आधारभूत विश्लेषणको आधारमा मात्र सेयर खरिद गर्ने भएकाले हचुवाको भरमा उकालो लागेको सेयर खरिद नहुँदा भोलुम कारोबार नहुने भएकाले पनि बजार माथि जान समस्या आइरहेको हो । लगानीकर्ताको मनोबल बढनका लागि आधारभूत विश्लेषणमा खरो उत्रेका कम्पनीहरूको बजार मूल्य माथि जाँदाको अवस्थामा मात्र दिगो रूपमा बजार माथि जाने वातावरण निर्माण हुन्छ ।

बैङ्कबाट सेयर कर्जा उल्लेख्य रूपमा बढेको तथ्याङ्कले देखाएको भए तापनि त्यस्ता पैसा बजारमा खासै भित्रिएको अवस्था छैन । बजारको आधारभूत विश्लेषकको भाषामा भन्ने हो भने कुनै पार्टीको आयोजना गर्दा आउने पाहुना साथीभाइ र नातागोता आएकै छैन तर नचिनेको मान्छेकै भिड भने देखिएको जस्तो भएको छ वर्तमान सेयर बजार ।

बजार केही अङ्क उकालो लाग्ने बित्तिकै लघुवित्त, फाइनान्स, विकास बैङ्क र जलविद्युत् समूहका केही सेयरको मूल्य एकाएक बढ्ने तर आधारभूत विश्लेषणले राम्रो देखाएको बैङ्क, जीवन बिमा र जलविद्युत् समूहकै बलियो कम्पनीको सेयरको मूल्य जहाँको तही रहने अवस्थाले पनि बजार खासै उकालो लाग्न नसकेको हो ।

वर्तमान सेयर बजारलाई हेर्दा फाइनान्स, होटल, विकास बैङ्क, जलविद्युत्का कतिपय सेयर आदिमा नेप्से एक हजार ८०० नजिकको विन्दुमा लगानी गरेको लगानीकर्ताले ती समूहको सेयरको बजार मूल्य निकै उच्च भइसकेकाले बुलको स्वाद चाखिसकेको जस्तो देखिन्छ ।

बैङ्क तथा वित्तीय समूह जीवन बिमा लगायतको सेयर मूल्यमा खासै परिवर्तन नदेखिएकाले बजार माथि जान नसकेको अनि ती समूहको सेयर मूल्य उकालो नलागी बजारले पुरानो बुल तीन हजार २०० को उचाइको रेकर्डलाई तोड्न नसक्ने ठहर धेरै विश्लेषकको रहँदै आएको छ ।

वर्तमान नेपाली सेयर बजारलाई नियाल्दा विश्वकै चर्चित अमेरिकी लगानीकर्ता वारेन बफेटका मित्र तथा लगानीकर्ता चार्ली मङ्गरको धारणालाई आत्मसात् गरेर अघि बढदा लगानीकर्ताले उचित लाभ लिन सक्ने आशा एवं विश्वास गर्न सकिन्छ । चार्लीको विचारमा लगानीकर्ताले सेयरको मूल्यलाई मात्र हेरेर खरिद गर्ने अवस्था खतरनाक हुन्छ । नेपाली बजारमा हाल त्यही भइरहेको छ ।

आधारभूत विश्लेषणले राम्रो नदेखाएको अनि कम पुँजी भएको कतिपय कम्पनीको सेयर मूल्य हाल विशेष व्यक्ति अनि समूहको कारण ‘अल टाइम हाइ’ अवस्थामा छ । यस्तो सेयर खरिद गर्ने लगानीकर्ताले बजारमा ती सेयरको भ्यालुलाई भन्दा पनि मूल्यलाई मात्र हेरेको पाइन्छ । त्यस्ता लगानीकर्ता कुनै पनि बेला उच्च मूल्यमा खरिद गरेको सेयरमा फस्न सक्छन् तर बाठा लगानीकर्ता भने कम मूल्यमा खरिद गर्दै भाउ बढेको बेला सेयर बिक्री गरेर नाफा कमाउन सफल हुन्छन् ।

चार्लीको भनाइमा राम्रो लगानी त्यो हो, जसमा भ्यालुलाई महत्व दिनु पर्छ अर्थात् आधारभूत विश्लेषणको आधारमा राम्रो भ्यालु भएको सेयरमा लगानी गर्नु पर्छ भलै त्यस्ता सेयरको मूल्य हाल कमै किन नहोस् । अनि खरिद गरेको मूल्यभन्दा केही किन नघटोस् । उहाँको भनाइलाई स्वीकार गर्ने हो भने हाल कतिपय निर्जीवन, जीवन बिमा, जलविद्युत्, वाणिज्य बैङ्कका सेयर आधारभूत विश्लेषणका हिसाबले सही र भविष्यमा उचित प्रतिफल दिन सक्ने खालका छन्, अनि त्यस्ता सेयरको बजार मूल्य निकै सस्तो पनि छ ।

तसर्थ बजारमूल्य नै सबै कुरा हो भन्ने मान्यतामा सेयर खरिद होइन आधारभूत विश्लेषण अनुसार बलियो कम्पनीमा लगानी गर्ने रणनीति अख्तियार गर्नु पर्छ । चार्लीको सेयर खरिदको धारणा नेपाली वर्तमान बजारका लागि निकै उपयोगी साबित हुन सक्ने देखिन्छ ।

हाल बजारमा रहेका वाणिज्य बैङ्कको आर्थिक स्वास्थ्यलाई नै हेर्ने हो भने पनि खराब कर्जा बढेको र त्यसका लागि नाफाबाट ठुलो रकम प्रोभिजन गर्नु परेको कारण नाफा घटेको र खासै प्रतिफल दिन नसक्ने अवस्थामा पुगेको देखिन्छ तर बैङ्कहरूले असल धितो राखेर दिएको कर्जा नउठने कुरै आउँदैन ।

ढिलो चाडो उठिहाल्छ अनि नाफा एकाएक बढ्ने सम्भावना छ तर त्यस्ता बैङ्कको बजारमा हाल सेयरको मूल्य ज्यादै न्यून छ । कतिपय बैङ्कको सेयर त किताबी मूल्य(बुक भ्यालु) नै नजिक बजारमा खरिद गर्न सकिन्छ । नेपाली सेयर बजार बुलरनमै भएको र अझै एक डेढ वर्ष बुल नै रहने अनुमान गरिएको यो समय भनेको भविष्यमा राम्रो प्रतिफल दिन सक्ने खालको सेयरमा लगानी गर्ने नै हो ।

त्यसै गरी निर्जीवन बिमा समूहका सेयरको बजार मूल्यमा पनि खासै बढोत्तरी भएको अवस्था होइन अहिले । जीवन बिमाको हकमा लामो सयमदेखि बजार मूल्य बढ्न नसकेको देखिन्छ तर बिमा कोष निकै उच्च भएको, आफ्नो लगानीको विविधीकरण गरेको, पोलिसी बिक्री बढाएको पाइएको पुराना जीवन बिमा कम्पनीको आर्थिक स्वास्थ्य सानदार नै छ । भविष्यमा राम्रो प्रतिफल दिन सक्ने खालको जीवन बिमा कम्पनीमा लगानी गर्ने सुवर्ण अवसर नै देखिएको छ अहिले ।

सेयर बजार दुई हजार ६०० को नजिक नै घुमिरहेको वर्तमान अवस्थाबाट बजार माथि जानका लागि राजनीतिक स्थिरताको सुनिश्चितता, नयाँ गर्भनरको आगमनसँगै सेयर बजार मैत्री नीतिगत सुधार, धितोपत्र बोर्डले चाल्ने बजार मैत्री नीति, नयाँ स्टक एक्सचेन्ज आउने सुनिश्चितता, बैङ्क तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रकाशन गर्ने अर्धवार्षिक आर्थिक प्रतिवेदनमा सुधार र जीवन तथा निर्जीवन बिमा कम्पनीले आगामी दिनमा घोषणा गर्ने उचित प्रतिफलले लगानीकर्ताको मनोबल उकास्न मद्दत पु¥याउन सक्छ ।

सेयर बजार लगानीकर्ता तरलताको अभाव देखिँदैन, आधारभूत विश्लेषणले भविष्यमा उचित प्रतिफल दिन सक्ने कम्पनीको चयन पनि मुस्किल देखिँदैन ।

सेयर खरिद गर्दा भने प्रतिसेयर आम्दानी राम्रो भएको, मूल्य आम्दानी अनुपात कम भएको, किताबी मूल्यकै नजिक बजार मूल्य भएको, १२० दिनको औसत मूल्यको नजिक बजारमूल्यमा पाइएको भविष्यमा राम्रो प्रतिफल दिन सक्ने खालको सेयर चयन गर्न भने सक्नु पर्छ । आफैँले आधारभूत विश्लेषण गर्न सकिँदैन भने विज्ञको सल्लाहमा मात्र सेयर खरिद गर्दा उचित हुन्छ ।

हाल बजारमा कम पुँजीका कम्पनीको बजार मूल्य एकाएक उकासिएको, उचालिएको वा फुलाइएको कम्पनीको बजार मूल्य थचारिएपछि बजार माथि जाने नै हो । त्यस्तो अस्वाभाविक सेयर मूल्य भएको सेयर खरिदमा फस्न सक्ने अवस्थालाई पनि लगानीकर्ताले चनाखो भएर हेर्न सक्नु पर्छ ।

सेयर खरिद, नाफा–घाटाको दायित्व लगानीकर्ता स्वयम्को हुने भएकाले ‘सुनो सबकि करो खुदकि’ अर्थात् सबैको कुरा सुनौँ तर निर्णय आफैँ गरौँ भन्ने सिद्धान्तलाई स्वीकार गर्दै अगाडि बढ्नु पर्छ ।

IME Lifesidebar
kumari