macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

समृद्धिका लागि पर्यटन

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

विश्वमा सूचना र संचारको जगत्मा २१औं शताब्दीमा देखिएको दु्रत विकासको साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ ।

विकासशील मुलुकहरू उनीहरूका लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यस शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिका साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील मुलुकहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हाँसिल गर्दै पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ ।

आ–आफ्ना मुलुकमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख मुलुकहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बद्लिँदो आर्थिक परिवेशलाई आत्मसाथ गर्दै अर्थतन्त्रमा विकसित मुलुकका साथै विकासशील मुलुकले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ । साथै मुलुकमा बेरोजगारीको समस्या समाधान गर्नका लागि पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ । यसै सन्दर्भमा सन् २०२३ को विश्व पर्यटन दिवसको मुख्य सार ‘पर्यटनमा वातावरणमैत्री संरचनाको निर्माण र प्राकृतिक स्रोत साधनउन्मुख पर्यटनलाई आधार’ मानेर हरित लगानीका कुराहरूतिर लाग्ने रहेको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को रेखा कोरी मुलुकको भविष्य निर्माण गर्ने आशा एवं भरोशाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायनलाई रोक्दै स्वदेश एवं जन्मभूमिमै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूका आधारमा सूचना र प्रविधिको अधिकतम् उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा पर्यटन व्यवसायको विकास गर्नु आजको आवश्यकता हो ।

हाम्रो मुलुकमा तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिबाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक पर्यटन उद्योगको विकासबाट मुलुकको आर्थिक सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रस्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्वितीय प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण मुलुक भएकाले पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनका रूपमा रहेको छ । जसबाट हाम्रो मुलुकको नागरिकको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुनसक्छ ।

हाम्रो मुलुक भगवान् गौतम बुद्धको जन्मस्थान र विश्वको सर्वोच्च शिखर सगरमाथाको देशका रूपमा मात्र विश्वमा परिचित नभई पर्यटन, जलस्रोत, प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरूको धनी एवं जैविक विविधताले भरिपूर्ण रहेको हिमालय पर्वतको क्षेत्रका रूपमा समेत चिनिन्छ । आर्य तथा मंगोल संस्कृतिको संगमस्थल रहेको क्षेत्र हिन्दू तथा बौद्धमार्गी ऋषिमुनिहरूको तपोभूमि एवं विश्राम स्थलका रूपमा रहेको छ । हाम्रो मुलुक विभिन्न जनजाति र समुदायका बिच सदियौंदेखि भाइचारा सम्बन्ध राख्दै आएका परिश्रमी र मेहनति समुुदायको साझा फूलबारी हो ।

हाम्रो मुलुक प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रचारप्रसारको कमीले सोचेनुसार पर्यटकहरूको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवं पर्यटकीय स्थल हुँदाहुँदै पनि आवश्यक भौतिक संसाधन व्यवस्थापनको कमीले सो स्थानको पर्यटकीय विकास हुन सकेको छैन ।

सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण हाम्रो मुलुकमा आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी नेपालमा मानिसको आगमन वृद्धि गराउन सकिन्छ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवद्र्धन गर्दै स्थानीय बासिन्दाको चाहना र आवश्यकतालाई ध्यानमा राखी पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु समयको माग हो ।
नेपालका लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा मुलुकमा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाका रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । हाम्रो मुलुकका पर्यटकीय सम्भावना बोकेका अधिकांश स्थलहरू विभिन्न क्षेत्रमा छरिएर रहेका छन् । यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवा सुविधा दिने अवस्थाको अझै कमी छ ।

भरपर्दो र व्यवस्थित हवाई यातायातको कमी, पर्यटकीय स्थल कमजोर व्यवस्थापन, अपर्याप्त र खण्डित अवस्थाबाट ग्रसित रहेको छ । यसबाट नेपालीहरूले खास रूपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले, हाम्रो मुलुकमा पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ । अतः पर्यटन विकास, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।

हाम्रो मुलुकको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दीगो स्रोत सिर्जना गर्न र स्थानीय तहको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुनसक्छ । मुलुक तथा विभिन्न स्थानीय तहमा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिन्छ ।

स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आजको आवश्यकता हो । त्यस्तै, पर्यटकीय क्षेत्रमा भौतिक तथा मानव संसाधनको आवश्यकतानुसार व्यवस्थापन गर्नु पनि अति आवश्यक छ ।

प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख मुलुकहरूमध्ये नेपाल पनि हो । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्नु आजको आवश्यकता रहेको छ ।

पर्यटनका माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाइ गरिबी न्यूनीकरण गर्दै नेपालीको जीवनस्तरमा सुधार ल्याउनु अपरिहार्य देखिन्छ ।
(लेखक मनकामना अध्ययन अनुसन्धान केन्द्रका प्रमुख हुन्)

१२ असोज २०८०, शुक्रवार ०५:४२ बजे प्रकाशित

NTA long ad