stcnepal long ad

मनासलु हिमालमा आरोहण सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । शरद ऋतुमा आरोहणका लागि पहिलो रोजाइमा पर्ने मनासलु हिमालमा आरोहण सुरु भएको छ । सेभेन समिट ट्रेकबाट मनासलु आरोहणका लागि चुचुरोसम्म बाटो (रोप फिक्सिङ) बनाउन गएका छ जना शेर्पाले बुधबार चुचुरो टेकेसँगै बिहीबार थप १० जना आरोही चुचुरोमा पुगेका छन् ।

सेभेन समिटका महाप्रबन्धक थानेश्वर गुरागाईंले भन्नुभयो, “चचुरोसम्मको बाटो तयार भएसँगै यो वर्षको आरोहणको पहिलो दिन १० जना आरोही चुचुरोमा पुगेका हुन् । बिहीबार सात जना नेपाली र तीन जना विदेशीले सफल आरोहण गरेका छन् ।”

पर्यटन विभागका निर्देशक राकेश गुरुङले आरोहणका लागि मौसमसमेत अनुकूल रहेकाले दोस्रो तथा तेस्रो आधार शिविरमा रहेका आरोही धमाधम आरोहण पूरा गर्ने तयारीका साथ चुचुरोतर्फ लाग्ने क्रम जारी रहेको जानकारी दिनुभयो ।

शरद ऋतुमा मनासलु सहित १० वटा हिमालमा आरोहणका लागि बिहीबारसम्म ३६२ जनाले अनुमति लिएको भन्दै उहाँले मनासलु आरोहणका लागि यस पटक २२६ पुरुष र ८२ जना महिला गरी ३०८ जनाले अनुमति लिएको जानकारी दिनुभयो ।

गत वर्षको यही सिजनमा मनासलु हिमाल आरोहणका लागि ३०१ जनाले अनुमति लिएका थिए । मनासलुमा पोहर भदौ ३१ गते पहिलो आरोहण भएको थियो ।

विभागका अनुसार यस वर्ष पुथा हिउँचुली, अन्नपूर्ण चौथो, ठकर गो इस्ट, धौलागिरि, फुङ्गी, कुम्भकर्ण, अरनिको चुली, अपि र मकालु गरी १० वटा हिमाल आरोहण अनुमति दिइएको छ ।

हिमालमा आरोहण अनुमतिबापत चार करोड ५२ लाख ४५ हजार ८४८ रुपियाँ राजस्व सङ्कलन भएको विभागले जनाएको छ । किलर माउन्टेनको नामले परिचित मनासलु आरोहण सगरमाथा आरोहणअघिको पूर्वतयारीका रूपमा लिइन्छ ।