नेपाल एयरलाइन्सले सिडनी,कोलम्बो र सिओल उडान थप्ने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले अष्ट्रेलियाको सिडनी, श्रीलंकाको कोलम्बो र दक्षिण कोरियाको सिओलमा सिधा हवाई उडान सञ्चालन गर्ने भएको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले छिट्टै सिडनी, कोलम्बो र सिओलमा उडान भर्ने गरी कार्ययोजना बनाएको जानकारी दिएका छन ।
नेपाल वायुसेवा निगम र निजी क्षेत्रका नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न चार वटा संस्थाबीच असोज १८ गते एक समझदारीपत्र हस्ताक्षर कार्यक्रममा अध्यक्ष अधिकारीले अष्ट्रेलिया उडान रोक्न केही पक्ष लागिपरेको भन्दै सबै प्रकारका दबाब र प्रभावका बीच सिडनीसहितका गन्तव्यमा उडान विस्तार गर्ने बताएका छन ।
निगमले सिडनीको उडानका लागि धेरै काम गरिसकेको छ, तर केही सिन्डिकेटधारी समूह निगमको जहाज सिडनी जान नदिन प्रयास गरिरहेका छन्, विभिन्न दबाबलाई चिर्दै निगमले लक्ष्यमा पुग्ने अठोट लिएको छ।
अध्यक्ष अधिकारीले निगमका अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तार गर्ने र भएका गन्तव्यमा उडान संख्या बढाएर लैजाने प्रयासमा रहेको पनि बताएका छन ।
उक्त प्रयोजनका निम्ति पनि जहाज खरिद गर्ने र जहाज लिजमा लिएर भए पनि सेवालाई प्रभावकारी बनाउने योजना रहेको छ । निगमले अन्तर्राष्ट्रिय र राष्ट्रिय क्षेत्रमा सेवा विस्तार गर्न तीन वटा विमान खरिद गर्ने योजना बनाएको छ। त्यसका लागि नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर डा. दिपेन्द्र बहादुर क्षेत्रीको संयोजकत्वमा बनाइएको अध्ययन समितिले प्रतिवेदन दिइसकेको छ।
सोल्टी होटलको सेयर बेचेर पुरानो ऋण तिरेर भएपनि नयाँ जहाज खरिदका लागि आर्थिक स्रोत जुटाउनु पर्ने सुझाव समितिले दिएको छ।
नेपालमा विदेशी पर्यटक भित्र्याउन निगमको भूमिका रहेको भन्दै अध्यक्ष अधिकारीले निगमको सेवालाई थप प्रभावकारी बनाउन सरकारले पनि निगमको व्यवस्थापकीय पक्षलाई ध्यान दिनुपर्ने खाँचो औँल्याएका छन ।
राष्ट्रिय दायित्वलाई ध्यानमा दिएर दुर्गम भेगमा उडान गर्ने तीन वटा ट्वीनअटर जहाज खरिद प्रक्रियामा रहेको र यसले छिट्टै सार्थकता पाउने अध्यक्ष अधिकारीले विश्वास व्यक्त गरेका छन । निगमका वाणिज्य विभाग निर्देशक टंकनिधि दाहालले निगमको जहाज थपेर भएपनि गन्तव्य विस्तार गर्ने योजनामा रहेको बताएका छन ।
निगम र निजी क्षेत्रका चार संस्थाबीच सहकार्य
निगमले व्यावसायिक साझेदारिता बढाउने उद्देश्यले निजी क्षेत्रका विभिन्न चार वटा संस्थासँग सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र ती संस्थाका अध्यक्षले सहकार्यसम्बन्धी समझदारीपत्रमा छुट्टाछुट्टै हस्ताक्षर गरेका छन् ।
निगमले नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय व्यावसायिक पहल संस्था, नेपाल युवा उद्यमी परिसंघ, नेपाल उद्योग परिसंघ कोशी प्रदेशसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । सम्झौतामा उक्त संस्थामा आबद्ध पदाधिकारी, कर्मचारी र तिनका परिवारले यात्रा गर्दा निगमको जहाजबाट यात्रा गर्ने, ती संस्थाले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा निगमको प्रवर्द्धन गर्नुपर्ने र निगमले भाडादरमा १५ प्रतिशत छुट दिने व्यवस्था भएको छ ।
सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्रिय ध्वजाबाहकको सेवालाई आधुनिकीकरण गर्दै गन्तव्य विस्तार गरेर लैजानुपर्नेमा जोड दिएका छन । राष्ट्रिय व्यावसायिक पहलका तर्फबाट कुशकुमार जोशीले देशको गौरव र पहिचान नेपाल वायुसेवा निगमको शाखलाई बलियो बनाएर व्यावसायिक सेवालाई थप गुणस्तरीय र प्रतिस्पर्धी बनाइनुपर्नेमा जोड दिएका छन ।
नेपाल युवा उद्यमी परिसंघका अध्यक्ष कुशलसुन्दर श्रेष्ठ र परिसंघ कोशी प्रदेशका अध्यक्ष अनमोल प्रधानले निगमको व्यावसायिक प्रवर्द्धनमा युवा उद्यमीले भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन ।
निगमका अध्यक्ष अधिकारीले निजी क्षेत्रको साझेदारिताले निगमको व्यवसाय प्रवर्द्धन हुने विश्वास व्यक्त गरेका थिए। निजी क्षेत्रका उद्यमी व्यवसायी चार संगठनले निगमलाई विश्वास गर्नु भनेको निगमको थप बजार विस्तार हुनु हो।
निगममा सुधारका काम भैरहेका छन भनी विस्वास जाग्नु हो। निगमले अब टिकट बिक्रिमा सुधार गर्नु पर्दछ। उधारोमा टिकट बिक्री गर्न छाडनु पर्दछ र पुरानो दुई अर्ब भन्दा बढीको उधारो टिकट बिक्रीको रकम उठाउन पहल गर्ने हो भने निगमले राम्रो मुनाफा आर्जन गर्न सक्छ। भाडा दरमा पनि पुनर्मुल्यांकन गर्नु पर्ने सुझाव जनस्तरले दिएका छन।
ध्चष्तभ तय प्ष्कजयच क्जबचmब
२१ असोज २०८०, आइतवार ०७:२० बजे प्रकाशित