एनपीएलमा आजदेखि प्लेअफका खेलहरु शुरू हुँदै
काठमाडौं । गत मंसिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेटमा आजदेखि प्लेअफका खेलहरु शुरू हुँदैछन् ।
दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच पहिलो क्वालिफायर हुँदैछ । सुदूरपश्चिम रोयल्स अघिल्लो संस्करणको उपविजेता हो ।
यस्तै इलिमिनेटरमा भोलि दिउँसो ४ बजे काठमान्डु र लुम्बिनी खेल्दैछन् । पहिलो क्वालिफायर जित्ने टोली सीधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।
यस्तै इलिमिनेटमा जित्ने टोलीले फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्न पाउनेछ भने पराजित हुने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायर आउँदो बिहिवार हुनेछ । दोस्रो संस्करणको एनपीएलको फाइनल खेल आउँदो शनिवार हुनेछ ।
लिग चरणका खेल सकिँदा ब्याटिङतर्फ विदेशी खेलाडी र बलिङतर्फ नेपाली खेलाडीको प्रदर्शन राम्रो रहेको छ । ब्याटिङतर्फ पोखरा एभेन्जर्सका एडम रोसिङ्टन एक शतक र दुई अर्धशतक सहित ३ सय २३ रन बनाएर शीर्ष स्थानमा छन् ।
यस्तै कर्णाली याक्सका मार्क वाट १ शतक र १ अर्धशतक सहित २ सय ४६ रन बनाएर दोस्रो तथा चितवन राइनोजका रवि बोपारा ३ अर्धशतकसहित २ सय ३७ रन बनाएर तेस्रो स्थानमा छ । ब्याटिङतर्फ धेरै रन बनाउने नेपाली खेलाडीमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेल छन्, उनले १ अर्धशतकसहित २ सय ८ रन बनाएका छन् ।
यस्तै सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीले १ अर्धशतक सहित २ सय १ रन बनाएर रोहितलाई पछ्याइरहेका छन् । यस्तै बलिङतर्फ विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने १५ विकेट लिँदै शीर्ष स्थानमा छन् ।
यस्तै सुदूरपश्चिमका अविनाश बोहरा १४ विकेट सहित दोस्रो, काठमाडौंका शाहब आलम १२ विकेटसहित तेस्रो स्थानमा छन् । काठमाडौंका कप्तान करण केसीले पनि १२ विकेट लिएका छन् । सुदूरपश्चिमले लिग चरणमा एउटा मात्रै हार बेहोर्यो । आफ्नो अन्तिम खेलमा सुदूरपश्चिम विराटनगरसँग पराजित भयो । विराटनगरले ५ वटा खेल जित्दा २ वटामा हार बेहोर्यो ।
विराटनगरले पहिलो संस्करणमा आफ्नै नाममा रहेको सर्वाधिक १ सय ९३ रनको कीर्तिमानलाई तोड्दै यसपालि २ सय २० रन बनायो । विराटनगरले शीर्ष स्थानको सुदूरपश्चिमलाई हरायो । साथै विराटनगरले विश्व क्रिकेटमा चर्चित दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई टोलीमा भित्र्यायो ।
काठमाडौंले पनि ५ वटा खेल जित्दा तालिकाको शीर्ष स्थानमा रहेका सुदूरपश्चिम र विराटनगरसँग हार बेहोर्यो । काठमान्डुले पहिलो खेलमै पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई हरायो ।
नेपाली राष्ट्रिय टोलीका कप्तानको नेतृत्वमा रहेको लुम्बिनीले पहिलो खेल जिते पनि त्यसपछि लगातार तीन खेलमा पराजित र तीन खेलमा लगातार जीत निकाल्दै प्लेअफमा पुग्यो । लुम्बिनीले जनकपुर र अहिले शीर्ष दुईमा रहेको विराटनगरलाई हरायो ।
पोखराले ३ खेलमा जीत र ४ खेलमा हार बेहोर्यो । पोखराले जनकपुरलाई हरायो । जिम्मी नीशम र एडम रोसिङ्टन जस्ता खेलाडी भए पनि तालमेल नमिल्दा पोखरा प्लेअफमा पुग्न सकेन । कर्णालीले २ खेलमा जीत र ५ खेलमा हार बेहोर्यो । कर्णालीले लुम्बिनी र जनकपुरलाई हरायो । जीतका साथ प्रतियोगिता शुरू गरेको चितवनले त्यसपछि लय गुमाउन पुग्यो ।
पहिलो संस्करणको विजेता जनकपुरले यसपालि बिर्सनलायक प्रदर्शन गर्यो । जनकपुर यसपालि एक मात्र जीत हात पर्दै तालिकाको पुछारमा रह्यो । जनकपुरले शुरूका ४ वटै खेल हार्न पुग्यो । जनकपुरले एकमात्र जीत निकाल्ने क्रममा चितवनलाई हरायो ।
एनपीएलका कुल ३२ मध्ये लिग चरणका १९ वटा खेल फ्लडलाइटमा भए । अबका ४ वटै खेल पनि फ्लडलाइटमा नै हुनेछन् ।
पहिलो संस्करणमा केही सङ्ख्यामा मात्र चर्चित खेलाडीहरू आएर खेलेको एनपीएलमा यस पटक पहिले भन्दा धेरै विदेशी खेलाडीहरू अनुबन्ध हुँदा एनपीएलको रौनक शहरदेखि गाउँसम्मै पुगेको छ ।





























