म्यानमारसँग नेपालले बराबरीमा रोक्यो

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल म्यानमारसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेल २–२ गोलको बराबरीमा सकिएको हो ।
सिंगल लिगमा भइरहेको प्रतियोगितामा यी दुई टोली अपराजित रहँदै एक खेल अगाबै फाइनलमा भने प्रवेश गरिसकेका छन् । नेपालले किर्गिस्तान र लेबनानलाई समान १–० ले पराजित गरेको थियो।
म्यानमारले भने लेबनानलाई ३–१ र किर्गिस्तानलाई ५–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । ५५ औं वरीयतामा रहेको म्यानमारलाई भने नेपालले अहिलेसम्म पराजित गर्न सकेको छैन ।
सन् २००९ मा भएको पहिलो भेटमा यी दुई टोलीले १–१ को बराबरी खेलेका थिए । त्यसपछि उज्बेकिस्तानमा भएको अर्को भेटमा भने नेपाल ३–१ ले पराजित भएको थियो ।