बैंक तथा वित्तीय संस्थाले एकै दिन ८७ अर्ब १० करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखे

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले एकै दिन ८७ अर्ब १० करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले स्थायी निक्षेप सुविधा (एसडीएफ) तथा निक्षेप संकलन उपकरण अन्तर्गत आइतबार उक्त रकम केन्द्रीय बैंकमा जम्मा गरेका हुन् ।
आज आइतबार बैंकहरुले ७० अर्ब ९० करोड एसडीएफ तथा निक्षेप संकलन उपकरणमार्फत १६ अर्ब २० करोड निक्षेप गरी कुल ८७ अर्ब १० करोड रुपैयाँ केन्द्रीय बैंकमा राखेका हुन् ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले अघिल्लो पटकको तुलनामा बैंकहरुले ८ अर्ब २५ करोड बढी एसडीएफमा राखेका छन् ।
गत बिहीबार बैंकहरुले ६२ अर्ब ६५ करोड एसडीएफमा जम्मा गरेका थिए । सो परिपक्क भएपछि बैंकहरुले आइतबार पुनः एसडीएफ राखेका हुन । यो रकम फागुन १३ गते मंगलबार परिपक्क हुनेछ ।
राष्ट्र बैंकले ब्याजदर कोरिडोर कार्यान्वयन प्रभावकारी बनाउन गत फागुनदेखि बैैंक, वित्तीय संस्थाले आफूसँग भएको अधिक तरलता केन्द्रीय बैंकमा निक्षेपका रुपमा राख्न पाउने गरी स्थायी निक्षेप सुविधा सुरु गरेको थियो ।
प्रणालीमा अधिक तरलताको अवस्था बढ्दै जाने तर कर्जाको माग नबढेपछि बैंकहरुले अल्पकालीन उपकरणहरुमा लगानी गरेरै भए पनि आम्दानी बढाउन लागेका हुन् । एसडीएफमा लगानी गर्दा बैंक वित्तीय संस्थाले ३ प्रतिशत ब्याज पाउने गरेका छन् ।
खुला बजार कारोबार सम्बन्धी कार्यविधिमा बैंकहरुलाई हरेक आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा ३ दिन स्थायी निक्षेप सुविधा उपलब्ध गराउने प्रावधान छ ।
स्थायी निक्षेप सुविधामा जम्मा भएको रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइदैन् । तर, राष्ट्र बैंकको निर्देशन बमोजिम कायम राख्नुपर्ने वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न पाइने व्यवस्था रहेको छ ।
यस्तै, केन्द्रीय बैंकले आइतबार मात्रै ३० अर्बको निक्षेप संकलन उपकरण जारी गरेकोमा ५ बैंक तथा वित्तीय संस्थाले ५ आवेदन मार्फत १६ अर्ब २० करोडमात्रै २१ दिनका लागि राष्ट्र बैंकमा जम्मा गरेका छन् । जसको औसत ब्याजदर ३ प्रतिशत कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा कुल ६७ खर्ब ३६ अर्ब रुपैयाँ निक्षेप रहेको छ । यसअवधिमा बैंकहरुले ५४ खर्ब ४१ अर्ब कर्जा लगानी गरेका छन ।
बैंकहरुले निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको छ । हाल बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७९.४६ प्रतिशत छ । यसलाई हेर्दा बैंकहरुसँग लगभग ५ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम देखिन्छ ।