stcnepal long ad
nabil bank
macchha(MBL)

यु–१९ महिला विश्वकप: आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै नेपाल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा बुधबार नेपालले तेस्रो खेलमा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ। माघ ५ र ७ गते दुई खेल खेलेको नेपालले बुधबार समूह चरणको अन्तिम खेल खेल्न लागेको हो।

पहिलो खेलमा पाँच विकेटले बंगलादेशसँग पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियालाई हराउँदै पहिलो जित निकाल्ने लक्ष्यका साथ नेपाल आज मैदानमा हुनेछ।

मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुन्छ। विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ। यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन्।

अस्ट्रेलिया दुई जितसहित चार अंकका साथ समूहको शीर्ष स्थानमा छ। बंगलादेश र स्कटल्याण्ड समान दुई अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् भने अंकबिहीन नेपाल समूह ‘डी’को पुछारमा छ।

विश्वकपको समूह ‘ए’ मा आयोजक मलेसिया सहित भारत, श्रीलङ्का र वेस्ट इण्डिज छन् भने समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका छन्। समूह ‘सी’ मा न्यूजील्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया छन्।

पूजा महतोको कप्तानीमा नेपाली टिम विश्वकप खेल्न मलेसिया पुगेको हो। नेपालले पहिलो खेलमा बंगलादेशसँग टस हारेर सुरुमा ब्याटिङ गरेको थियो।

बंगलादेश विरुद्ध १८.२ ओभरमा नेपाल ५२ रनमा अलआउट भएको थियो। ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गरेको थियो।

स्कटल्याण्डसँग भने नेपाल एक विकेटले पराजित भएको हो। सुरुमा ब्याटिङ गरेको नेपालले दिएको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ दशमलव चार ओभरमा नौ विकेटको क्षतिमा पूरा गरेको थियो। आजको खेलमा पराजित भएमा नेपाल समूह चरणबाटै घर फर्किनेछ।

prabhu mahalaxmi
kumari