पुलिसलाई हराउँदै आर्मी शीर्ष स्थानमा
काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब जारी शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा पुगेको छ । दशरथ रङ्गशालामा भएको दोस्रो खेलमा आर्मीले पुलिस क्लबलाई ४–२ गोलले हराएको छ ।
आर्मीका लागि नवयुग श्रेष्ठले दुई तथा सुमन अर्याल र सुदिल राईले एक एक गोल गरेका थिए । नेपाल पुलिसका लागि बुद्धबल तामाङ र मानबहादुर परियारले एक एक गोल गरे । आर्मीले उत्कृष्ट खेल प्रदर्शन गर्दै पुनः लिगको शीर्ष स्थानमा आफूलाई कायम राख्यो । पुलिसले अग्रता लिँदै खेलको २० औँ मिनेटमा बुद्धबल तामाङले पहिलो गोल गरेका थिए । कप्तान नीरकुमार राईको फ्रिकिकमा उनले गोल गरेका थिए ।
खेलको २१औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पहेलो कार्ड पाएका थिए । खेलको २४औँं मिनेटमा आर्मीका कप्तान भरत खवासको प्रहार खेर गयो । पुलिसका गोलरक्षक रोशन खड्काले उक्त प्रहारलाई सहजैसित रोकेका थिए । खेलको ३५औँ मिनेटमा आर्मीका लागि सुमन अर्यालले पहिलो गोल गरे । सन्तोष तामाङको फ्रिकिकमा आएको बललाई सुमनले गोल गरेका थिए । खेलको ४३ औँ मिनेटमा भरत खवासले उत्कृष्ट प्रहार गरेका थिए । ता यस्तै खेलको ५८औँ मिनेटमा पुलिसका मानबहादुर परियारले गोल गर्दै पुलिसलाई २–१ को अग्रता दिलाए । नीरकुमार राईको फ्रिकिकमा उनले गोल गरेका थिए ।
नवयुग श्रेष्ठले खेलको ७७ औँ मिनेटमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । नवयुगले नै आर्मीका लागि ८५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । खेलको ८९औंँ मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई ४–२ गोलले जिताए । आर्मीले १० खेलमा सात खेलमा जित, दुईमा हार तथा एक खेलमा बराबरी खेल्दै २३ अङ्क बटुलेको छ । यस्तै पुलिस १० खेलमा चारमा जित, दुईमा हार तथा चार खेलमा बराबरी खेल्दै १४ अंक सहित सातौँ स्थानमा छ ।
२० माघ २०७६, सोमवार ०७:१७ बजे प्रकाशित