काठमाडौँ महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ गतेसम्म रु। चार अर्ब २१ करोड १३ लाख ६७ हजार राजस्व संकलन गरेको छ ।
यसमा आन्तरिक आयतर्फ रु दुई अर्ब ६७ करोड ७३ लाख ८८ हजार, राजस्व बाँडफाँटबाट रु ७७ करोड ९९ लाख ८० हजार, संघ तथा प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान रु। ७५ करोड ३९ लाख ९८ हजार प्राप्त भएको महानगर उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन् ।
समग्र आम्दानीलाई प्रतिशतमा हेर्दा कुल आम्दानीको लक्ष्य अनुसार २७ दशमलव ८६ प्रतिशत र आन्तरिकतर्फ २६ दशमलव ४४ प्रतिशत प्रगति भएको उनले बताइन् ।
महानगरले चालु आर्थिक वर्षका लागि रु १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार आम्दानी हुने लक्ष्य लिएकामा त्यसमध्ये रु १० अर्ब १२ करोड ६४ लाख आन्तरिक आयको लक्ष्य राखिएको डंगोलको भनाइ छ ।
यस्तै, नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त, समानीकरण, राजस्व बाँडफाँटबाट रु चार अर्ब चार करोड ३४ लाख प्राप्त गर्ने लक्ष्य राखिएको छ।
महानगर लेखा समितिका संयोजक गायत्री पुडासैनीका अनुसार यसअघि बेरुजु जनिएको रु २६ करोड ३९ लाख ५१ हजार ७३४ नियमित सम्परीक्षण गराउन महालेखा परीक्षकको कार्यालयमा सिफारिस गर्ने प्रस्ताव १८ औँ कार्यपालिका बैठकले गरिसकेको छ ।
आव २०७३/०७४ देखि २०८०/०८१ सम्मको फर्छ्योट हुन बाँकी बेरुजुमध्ये नियमानुसार नियमित गराउनुपर्ने रु २२ करोड ७५ लाख ५१ हजार ७२३ र सम्परीक्षणका लागि प्राप्त रु तीन करोड ६४ लाख ११ रहेको उनले बताइन् ।





























