सुनको मूल्य फेरी एक हजार पाँच सय घट्यो

आर्थिक सञ्जाल बिहीबार,६ चैत्र २०७६
काठमाडौँ । केही दिन देखि ओरालो लागेको सुनको मूल्य हिजो प्रतितोला १ हजार रुपियाँ बढेको भएपनि आज फेरी प्रतितोला १ हजार पाँच सय रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७५ हजार, तेजावी सुन प्रतितोला ७४ हजार ७ सय र चाँदी भने अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रुपियाँ घटेर ६ सय ८० रुपियाँमा कारोबार भइरहेको छ ।
हिजो बुधबार छापावाल सुन ७६ हजार ५ सय, तेजावी सुन ७६ हजार २ सय र चाँदी ७ सय १० रुपियाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा स्थिर रहँदै प्रतितोला ७ सय १० रुपियाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार मंगबार अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार रुपियाँ घटेर छापावाल सुन प्रतितोला ७५ हजार ५ सय, तेजावी सुन ७५ हजार २ सय र चाँदी ७ सय १० रुपियाँमा कारोबार भएको थियो । गत शुक्रबारको तुलनामा चैत २ गते आइतबार प्रतितोला १५ सय रुपियाँ घटेको छापावाल सुनको मूल्य सोमबार भने प्रतितोला ५ सय रुपियाँले बढेको थियो । महासंघका अनुसार सोमाबार छापावाला सुन प्रतितोला ७७ हजार पाँच रुपियाँ र तेजाबी सुन प्रतितोला ७७ हजार २ सय रुपियाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य स्थीर रहँदै हिजो प्रतितोला ७ सय ९० रुपियाँमा कारोबार भएको थियो ।
चैत २ गते आइतबार भने छापावाला सुन प्रतितोला ७७ हजार रुपियाँ र तेजाबी सुन प्रतितोला ७६ हजार ७ सय रुपियाँमा कारोबार भएको थियो । गत शुक्रबार अघिल्लो दिनको तुलनामा एकै दिन प्रतितोला ३ हजार रुपियाँ घटेर छापावाल सुन प्रतितोला ७८ हजार ५ सय रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ ।
सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यका अनुसार कोरोना भाइरसको प्रभावले अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दी सुरु भएकोले सेयर मार्केटमा भारी गिरावट आउँदा सुनको भाउमा पनि भारी गिरावट आएको हो ।
अन्तराष्ट्रिय बजारमा डलरको मजबुत हुन गई सुनको भाउमा भारी गिरावट आएको, डलरको तुलनामा भारतीय मुद्रा पनि कमजोर भएकाले अन्तरिक बजारमा पनि सुनको भाउमा गिरावट आएको विश्लेषकहरुले बताएका छन् ।