आज कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाण पत्र’ वितरण कार्यक्रम रहेको र त्यसपछि दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन।
गत मंसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा सम्पन्न कांग्रेसको १४ ओैं महाधिवेशन अन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छन् ।
कांग्रेसको नयाँ विधान अनुसार यस महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री पदका लागि निर्वाचन भएको थियो । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनयन गरि केन्द्रीय समितिबाट अनुमोदन गर्ने विधानमा व्यवस्था रहेको छ ।
यसैगरी केन्द्रीय सदस्यहरुमध्ये ३५ खुला जना, महिला नौ जना, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जना, दलित नौ जना, आदिवासी/जनजाति १५ जना, खसरआर्य १३ जना, मधेसी नौ जना, थारु चार जना, मुस्लिम तीन जना तथा पिछडिएको क्षेत्र, अल्पसङ्ख्यक र अपाङ्गताबाट एकरएक जना केन्द्रीय सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन भएको थियो । यसबाहेक कांग्रेस विधानमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ ।
आजको केन्द्रीय समितिको पहिलो परिचयात्मक बैठकले सभापतिका मुख्य प्रतिस्पर्धी डा. शेखर कोइराला, उपविजेता सभापति प्रकाशमान सिंह, विमलेन्द्र निधि, उपसभापतिका उपविजेता चन्द्र भण्डारी, महामन्त्रीका उपविजेता डा. प्रकाश शरण महत, प्रदिप पौडेल,डा. मिनेन्द्र रिजाल, चुनाव नलडेका डा. नारायण खडका, उमा रेग्मीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्न सक्ने सम्भावना पनि रहेको छ।
आजको पहिलो केन्द्रीय बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले सबैलाई धन्यवाद दिने, स्वागत गर्ने, निर्वाचन आयोगमा दल दर्ताका लागि निर्णय गर्ने लगायतको कार्यसूची रहेको बताइएको छ ।
कांग्रेसले बैठकको निर्णयसहित आज नै आयोगमा राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिने बताइएको छ ।
आयोगले यस अघि सो प्रयोजनका लागि यही पुस १० गतेसम्म अन्तिम म्याद तोकी सो विषय सम्बन्धी सूचना प्रकाशन गरेको थियो।






















