माओवादी केन्द्रले पदाधिकारीको संख्या बढाउने
पुस ११ गतेबाट राष्ट्रिय सम्मेलन गर्दै
काठमाडौं। क्रान्तिकारी विचार र नेतृत्वको नयाँ संश्लेषण गर्दै समाजवादको नयाँ आधार बनाउने लक्ष्यका साथ नेकपा (माओवादी केन्द्र) ले यही पुस ११ देखि १३ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछ ।
राष्ट्रिय सम्मेलनलाई सभ्य र भव्य बनाउनका लागि जनवर्गीय सङ्गठनले आवश्यक तयारी गरिरहेका छन् । माओवादीको सहायक सङ्गठन वाइसिएल नेपालले प्रचारात्मक काम शुरु गरिसकेको छ ।
सात वटा भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशले सम्मेलनमा सहभागी हुने प्रतिनिधि तथा पर्यवेक्षक चयन गरिसकेका छन् । यस्तै पार्टी केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० प्रतिशत प्रतिनिधि आज भोली नै मनोनयन गर्दैछन् ।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार नियमित प्रक्रियाबाट कूल १ हजार ४८३ जना प्रतिनिधि चयन भएका छन् । त्यसको कूल १० प्रतिशत मनोनयन गर्ने जिम्मा हिजो पुस ९ गतेको स्थायी समितिको बैठकले अध्यक्ष प्रचण्डलाई दिएको छ ।
माओवादी केन्द्रले यसभन्दा अगाडि पाँच प्रतिशत मात्रै मनोनयन गर्ने बताएको थियो । त्यसलाई हिजो शुक्रबारको बैठकले १० प्रतिशत बनाएको छ । बैठकपछि प्रवक्ता महराले राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि मनोनयन गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिइएको बताएका छन् ।
कुन प्रदेशबाट कति सहभागी
माओवादी केन्द्रको केन्द्रीय कार्यालयका अनुसार राष्ट्रिय सम्मेलन आयोजक समिति अर्थात केन्द्रीय सदस्यबाट १७९ सहभागी हुनेछन् । यस्तै सल्लाहकारबाट १४९, जेष्ठ कम्युनिस्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधिबाट ८०३ जना राष्ट्रिय सम्मेलनमा प्रतिनिधि चयन भएका छन् ।
यस्तै प्रदेश–१ बाट ९६, प्रदेश–२ बाट १०६, वाग्मती प्रदेशबाट १२८, गण्डकी प्रदेशबाट ७४, लुम्बिनी प्रदेशबाट १०५, कर्णाली प्रदेशबाट ८७, सुदूरपश्चिम प्रदेशबाट ८४, प्रवास प्रदेशबाट ३४, विशेष प्रदेशबाट ४२ र सम्मर्क समन्वय प्रदेशबाट ८३ जना प्रतिनिधि सहभागी हुने व्यवस्था गरिएको छ। अध्यक्ष प्रचण्डले कूल १४८ प्रतिनिधि मनोनयन गरेपछि कूल प्रतिनिधि संख्या १ हजार ६३१ जना पुग्नेछ ।
माओवादी केन्दले पहिलो पटक संवैधानिक व्यवस्थाअनुसार नै केन्द्रीय समितिमा महिला, दलित, जनजाति, आदिवासी समुदायलाई विशेष भूमिकासहित जिम्मेवारी दिने भएको छ । महिलालाई अनिवार्यरूपमा ३५ प्रतिशत बराबरको हिस्सा छुट्याइएको छ ।
माओवादी केन्द्रले गत मंसिर ४ गते पार्टीको वडासम्मेलन गरेको थियो । त्यसका लागि पार्टीको तर्फबाट विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा निर्वाचन आयोग नै बनायो । आयोगका प्रतिनिधिसहितको उपस्थितिमा गत मंसिर ११ गते देशभरका पालिका सम्मेलन आयोजना गरेको थियो ।
प्रदेश–२ का केही पालिकामा बाहेक झण्डै ९८ प्रतिशत पालिकामा नयाँ नेतृत्व चयन भैसकेको छ । गत मंसिर २५ गते प्रदेश सम्मेलनको आयोजना गरिएको थियो । वाग्मती र प्रदेश–१ मा निर्वाचनबाटै नयाँ नेतृत्व चयन भएको छ ।
वाग्मती प्रदेशका नवनिर्वाचित अध्यक्ष सरल सहयात्री पौडेल नेतृत्वको वाग्मती प्रदेश समितिले हिजो पदभार ग्रहण गरेको छ । सहमति हुन नसकेपछि माओवादी केन्द्रले मतदान गराएर दुई प्रदेशको नयाँ नेतृत्व चयन गरेको थियो।
प्रदेश–२ को प्रदेश समिति मात्रै गठन गरिएको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा अध्यक्ष मात्रै चयन गरेका छन् । सुदूरपश्चिम प्रदेशमा पनि प्रदेश समिति मात्र चयन भएको छ । बाँकी रहेका गैरभौगोलिक प्रदेशको पनि नेतृत्व चयन भएको बताइएको छ ।
उपाध्यक्ष, महासचिव र सचिवमा दावी बढ्दै
माओवादी केन्द्रको यस पटक निर्वाचन र मनोनयन दुबै प्रक्रियाका माध्यमबाट नेतृत्व चयन गर्ने बताएको छ। यद्यपि माओवादी केन्द्रका नेताका अनुसार अध्यक्ष प्रचण्डको विकल्पमा कुनै पनि नेताहरुले दावी पेश नगर्ने भएका छन। प्रचण्ड सर्वसम्मत अध्यक्षमा चयन हुने भएका छन।
पदाधिकारी संख्या ५ बाट १५ पुरयाउने भएका छन। आजको बैठकले पदाधिकारीमा संख्या तोक्ने भएको छ। उपाध्यक्ष,महासचिव,उपमहासचिव, सचिवको संख्या थप्ने र सबै पदाधिकारीका आकांक्षीहरूलाई व्यवस्थापन गर्ने भएको छ।
उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा,देव गुरूङ,पम्फा भुषाल, महासचिवमा जनार्दन शर्मा र वर्षामान पुन,उपमहासचिवमा गिरिराजमणि पोखरेल, सचिवमा शक्ति बहादुर बस्नेत, हरिबोल गजुरेल, चन्द्रमणी खनाल बलदेव, हितराज शाक्य,लिलामणि पोखरेल, देवेन्द्र पौडेल,सुरेन्द्र कार्की लगायतको औपचारिक, अनौपचारिकरूपमा दावी गरिरहेका छन ।
सङ्गठन विभाग प्रमुख रहेका जनार्दन शर्मा, केन्द्रीय कार्यालयका इञ्चार्ज समेत रहेका वर्षमान पुनले महासचिवमा दावी गरेका छन ।
यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका देवेन्द्र पौडेलसमेतले महासचिवको दावी गर्दै अन्तिममा सचिव बन्ने इच्छा व्यक्त गरेका छन । यस्तै हिजोदेखि नै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले पनि आफू महासचिवका लागि योग्य रहेको दावी गरेपछि सबै पदाधिकारी आकांक्षीहरूलाई व्यवस्थापन गर्न पदाधिकारीमा संख्या बढाउने सहमति भएको छ।
भुषाल उपाध्यक्ष हुने सम्भावना छ। माओवादी केन्द्रको हालको विधानअनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित, पाँच प्रतिशत मुस्लिमको प्रतिनिधित्व गराउने व्यवस्था रहेको छ ।
माओवादी केन्द्रको सङ्गठित सदस्यले वडासम्मेलन मार्फत वडाको नेतृत्व चयन गरेका छन् । वडाबाट आएका प्रतिनिधिले गाउँपालिकाको नेतृत्व चयन गरेका थिए ।
यस्तै नगरमा २००, उपमहानगरमा ३०० र महानगरमा ४०० प्रतिनिधि उपस्थित भएर महानगर, उपमहानगर तथा नगरपालिका अधिवेशन सम्पन्न गरिसकेका छन् ।
महानगर, नगर र पालिकाबाट चयन भएका प्रतिनिधिले प्रदेश समिति निर्वाचित गरेको छ । प्रदेश सम्मेलन हुँदै राष्ट्रिय सम्मेलनमा जुटेको माओवादी केन्द्रले नेपालको संविधानमा व्यवस्था गरिएको समाजवादको सन्दर्भमा स्पष्ट खाका पेश गर्ने दावी गरेको छ ।
अध्यक्ष प्रचण्डले पार्टीलाई रूपान्तरण गरेर क्रान्तिकारी पार्टीकै रूपमा अगाडि बढाउने संकल्प गरेका छन् । टुटफुटको शृंखलाबाट अगाडि बढेको माओवादी केन्द्रलाई २०६४ सालको जस्तै रापिलो र स्पातिलो बनाउने दृढ संकल्प गर्दै प्रचण्डले समाजवादी आन्दोलनलाई विकास गरेर एउटा २१औं शताब्दीको एउटा नयाँ मोडेल विश्वलाई दिने बताउँदै आएका छन्।
पार्टीलाई कमीकमजोरी सच्याएर एउटा क्रान्तिकारी पार्टीका रूपमा, एउटा अन्तर्राष्ट्रवादी पार्टीका रूपमा, र समाजवादी क्रान्ति नेता पार्टीका रूपमा यसलाई रूपान्तरण गर्ने दोसाँधमा आफू रहेको भन्दै प्रचण्डले राष्ट्रिय सम्मेलनबाट विचारमा प्रष्टता आउने दावी गरेका छन् ।
नेकपा (एमाले) र नेपाली कांग्रेसले हालै सम्पन्न गरेको महाधिवेशनभन्दा माओवादी केन्द्रले फरक तरिकाले राष्ट्रिय सम्मेलनको आयोजना गरेको दावी गरिहँदा त्यसबाट कस्तो निष्कर्ष निकाल्ला त्यो भने प्रतीक्षाको विषय बनेको छ।
माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनबाट पार्टीलाई बहुपदीय ढाँचामा लगेर नेताहरूको व्यवस्थापन गरेपनि पार्टी संगठनमा उर्जा दिने सम्भावना भएपनि जनताको विश्वास जित्ने नीति कार्यक्रम ल्याउने सम्भावना भने कमै छ।
त्यसो त अध्यक्ष प्रचण्डले हिजोको स्थायी समितिको बैठकमा राष्ट्रिय सम्मेलनमा पेश गरिने राजनीतिक दस्तावेज पेश गरेका थिए । दस्तावेज कुन दिशामा केन्द्रीत भएको छ भन्ने बारेमा माओवादी केन्द्रको नेतृत्वले कुनै जानकारी नदिए पनि निरन्तरतामा क्रमभङ्गता हुने दावी गरिएको छ ।






















