ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन
काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यास बिक्री वितरण गर्दा अनिवार्य रूपमा भ्याट बिल जारी गर्न ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै ग्यास बिक्री गरेपछि अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो ।
निगमका अनुसार उद्योगहरूले नियुक्त गरेका कतिपय विक्रेताले ग्यास बिक्री गरेपछि बिलबिजक जारी नगर्ने गरेको गुनासो आएको छ ।
सोही गुनासोलाई सम्बोधन गर्दै निगमले विक्रेता मार्फत अनिवार्य रूपमा भ्याट बिल जारी गरी ग्यास बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
निगमले यसअघि पनि निर्णय कार्यान्वयनका सम्बन्धमा २०८१ साउन ३० र २०८१ माघ १० गते सम्बन्धित सङ्घलाई पत्राचार गरेको स्मरण गराएको छ ।
निगमका निर्देशक ई. विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा ग्यास बिक्री गर्दा अनिवार्य रूपमा बिलबिजक जारी गर्ने व्यवस्था मिलाउन सबै उद्योगलाई अनुरोध गरिएको छ ।






















