stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

टीएमएस व्यवस्थापन ब्रोकरलाई दिने तयारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अनलाइन सेयर कारोबारमा लगानीकर्ताको खरिदबिक्री आदेश नेप्सेको मुख्य कारोबार प्रणालीमा जोड्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) व्यवस्थापन धितोपत्र ब्रोकरलाई दिने तयारी भएको छ । नेप्सेले हालै तयार पारेको सूचना प्रविधिसम्बन्धी नीति (आईटी पोलिसी) मा उक्त व्यवस्था छ ।

केही महिनायता टीएमएसमा पटकपटक समस्या देखिन थालेको छ । यही समयमा नेप्सेले टीएमएस सञ्चालन र व्यवस्थापनको जिम्मा ब्रोकरलाई नै दिने गरी नीतिगत व्यवस्था गरेको हो ।

नीति तयार भइसके पनि कार्यविधि निर्माण अन्तिम चरणमा रहेकाले निकट भविष्यमै लागू हुने नेप्सेले जनाएको छ । स्थापनाको करिब साढे दुई दशकपछि नेप्सेले पहिलो पटक सूचना प्रविधि नीति बनाएको हो । टीएमएस ब्रोकरको कारोबार प्रणाली हो । यो प्रणालीले सेयर खरिदबिक्रीका लागि लगानीकर्ताबाट आएका आदेश नेप्सेको मुख्य कारोबार प्रणालीसम्म पुर्‍याउने, क्रम मिलाउने, तिनको रेकर्ड राख्नेलगायत काम गर्छ ।

हाल यसको व्यवस्थापन नेप्सेले नै गरिदिएको छ । अब भने ब्रोकर आफैंले सञ्चालन तथा व्यवस्थापन गर्न पाउनेछन् । ब्रोकरले टीएमएस व्यवस्थापन गर्दा नेप्सेले तय गरेको टीएमएसको सञ्चालन विधि र मापदण्ड भने पालना गरेको हुनुपर्नेछ ।

अब ब्रोकरहरूले रिस्क म्यानेजमेन्ट सिस्टम (आरएमएस) पनि सञ्चालन गर्ने नेप्सेले बताएको छ । हाल सिस्टममा आरएमएस छैन । आरएमएसको काम सीडीएससी, ग्राहक र ब्रोकरबीच समन्वय गर्नु हो । अन्तर्राष्ट्रिय अभ्यास अनुसार टीएमएस व्यवस्थापन व्यक्तिगत ब्रोकरलाई दिन लागिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।

‘ब्रोकरको सेवा प्रवाहलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउन लागिएको हो,’ उनले भने, ‘तोकिएको मापदण्डअनुसार ब्रोकरले सफ्टवेयर खरिद गरी टीएमएस सञ्चालन गर्नेछन् ।’ बजारमा चर्चा भए जस्तो टीएमएस व्यवस्थापनका लागि नेप्सेले कुनै एक कम्पनीलाई जिम्मा नदिने उनले प्रस्ट्याए ।

‘कुनै एक कम्पनीलाई टीएमएस व्यवस्थापन गर्न दिइँदैन,’ उनले भने, ‘ब्रोकरले छुट्टाछुट्टै सफ्टवेयर खरिद गरी टीएमएस व्यवस्थापन गर्नुपर्नेछ ।’ एक कम्पनीलाई टीएमएस व्यवस्थापनको जिम्मा दिँदा लगानीकर्ताका महत्त्वपूर्ण तथ्यांक चुहिने जोखिमबारे आफूहरू सचेत रहेको उनले जानकारी दिए ।

उता ब्रोकरहरूले भने टीएमएस सञ्चालनकै लागि कम्पनी स्थापना गरिसकेका छन् । २५ करोड अधिकृत पुँजी रहेको सो कम्पनीको चुक्ता पुँजी १० करोड रहेको बताइएको छ । ‘क्यापटेक नेपाल प्रालि’ नामको उक्त कम्पनी ४८ वटा ब्रोकर र सफ्टवेयर निर्माण गर्ने स्थानीय कम्पनी सिटीटेकले संयुक्त रूपमा स्थापना गरेका हुन् ।

‘कम्पनीमा ब्रोकरहरूको ५५, सिटीटेकको २०, क्लियरिङ बैंकको २० र ५ प्रतिशत सेयर व्यावसायिक विज्ञहरूका लागि छुट्याइएको छ,’ स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले भने, ‘हाललाई टीएमएस व्यवस्थापन गर्ने भनिए पनि डाटा सेन्टरलगायत पुँजी बजारमा आवश्यक सबै प्रविधिजन्य काम गर्ने हो ।’

मौखिक रूपमा नेप्से र धितोपत्र बोर्डको सहमतिमा कम्पनी स्थापना गरिएकाले टीएमएस व्यवस्थापनलगायत काम गर्न समस्या नहुने उनले दाबी गरे । ब्रोकरले लगानी गरेको कम्पनीले टीएमएस व्यवस्थापनसँगै डाटा सेन्टरको काम गर्दा स्वार्थ बाझिने भएकाले लगानीकर्ताको महत्त्वपूर्ण सूचना चुहावटको सम्भावना रहने जानकारहरू बताउँछन् ।

‘विगतमा बैंकहरू मिलेर नेपाल क्लियरिङ हाउस स्थापना गरे जस्तै अहिले ब्रोकरहरूले क्यापटेक स्थापना गरेको भन्दै आएका छन्,’ स्रोतले भन्यो, ‘क्लियरिङ हाउसको काम चेक क्लियरिङ गर्ने मात्र थियो, ब्रोकरले स्थापना गरेको कम्पनीले लगानीकर्ताको सम्पूर्ण तथ्यांक व्यवस्थापन गर्ने भएकाले जोखिम उच्च हुन्छ ।’

लगानीकर्ताको हक अधिकार र महत्त्वपूर्ण सूचना सुरक्षित गर्ने काम सेबोन र नेप्सेको भएकाले स्वार्थ बाझिने गरी कुनै एक कम्पनीलाई टीएमएस र डाटा सेन्टरको जिम्मेवारी दिन नहुने उनको सुझाव छ । अहिलेको अवस्थामा ब्रोकरहरूको लगानी रहेको कम्पनीलाई टीएमएस व्यवस्थापनको जिम्मा नदिइने नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले प्रस्ट्याए ।

‘बैंकरहरूलाई छुट्टाछुट्टै टीएमएस व्यवस्थापन गर्ने हो,’ उनले भने, ‘स्वार्थ बाझिने गरी कुनै एक कम्पनीलाई जिम्मेवारी दिइँदैन ।’ लगानीकर्ताका महत्त्वपूर्ण सूचना सुरक्षाका लागि आफूहरू संवेदनशील रहेको स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष रानाभाटले दाबी गरे ।

‘नियामक निकायसँग छलफल गरेरै कम्पनी स्थापना गरिएकाले जोखिम न्यूनीकरणका लागि कमजोरी हुने छैन,’ उनले भने । आफूहरूले नाफा हरेर कम्पनी स्थापना नगरेको उनको दाबी छ ।

कम्पनीले नाफाभन्दा पनि पुँजी बजारको आधुनिकीकरणका लागि काम गर्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय अभ्यासअनुसार ब्रोकरलाई टीएमएस व्यवस्थापन दिइने बताइए पनि नेप्से आफू जिम्मेवारीबाट पन्छिएको जानकारहरू बताउँछन् ।

‘आफूले व्यवस्थापन गर्दा समस्यै समस्या आए, व्यवस्थापन गर्न नसकेपछि नेप्सेले ब्रोकरलाई जिम्मा दिन लागेको छ,’ स्रोतले भन्यो, ‘ब्रोकरहरू अझै पनि व्यावसायिक छैनन् । अब उनीहरूबाट कस्तो अपेक्षा गर्ने रु’ नेप्सेको टीएमएस सिस्टममा गत भदौमा मात्र तीन दिन समस्या देखिएको थियो । अहिले उक्त समस्या समाधान भएको नेप्सेको दाबी छ । आजको कान्तिपुर दैनिकबाट

prabhu mahalaxmi
kumari