stcnepal long ad
nabil bank
macchha(MBL)

चिउरा, दालमोठ, भुजिया, पुष्टकारी र गुदपाकको तोकियो गुणस्तर

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले चिउरा, दालमोठ, भुजिया, पुष्टकारी र गुदपाकको गुणस्तर मापदण्ड तोकेको छ । खाद्य ऐन–०३३ को दफा ७ बमोजिम खाद्य पदार्थको गुणस्तर सम्बन्धमा ०७४ माघ २२ को नेपाल राजपत्रमा प्रकाशित आदेशमा हेरफेर गरी थप पाँच खाद्य पदार्थको गुणस्तर निर्धारण गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ०७७ भदौ २९ मा राजपत्रमा यस सम्बन्धी सूचना प्रकाशन गरेको छ । यी वस्तुको गुणस्तर निरीक्षण, नियमन तथा कारबाही कार्यान्वयन गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हो । चिउरा, दाममोठ, भुजिया, पुस्टकारी र गुदपाकको गुणस्तर निर्धारण पहिलो पटक गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए ।

यसअघि यी वस्तुमा अनुगमन भए पनि अखाद्य वस्तु भएरनभएको, ढुसी र रङको मात्रै निरीक्षण हुन्थ्यो । गुणस्तर निर्धारण भएपछि प्रोडक्ट स्पेसिफिक रूपमै निरीक्षण गरिने महर्जनले बताए । ‘विगतमा अनुगमनका क्रममा होरिजेन्टल (सेफ्टी) मात्रै हेरिन्थ्यो । अब प्रोडक्ट स्पेसिफिक भयो,’ उनले भने, ‘अब सेफ्टी र गुणस्तर सबै हेर्न सकिन्छ ।’

गुणस्तर निर्धारणले नियामक निकायसँगै व्यापार व्यवसाय विस्तारमा पनि सहजता थप्ने विभागको भनाइ छ । गुणस्तर मापदण्डअनुसार चिउरामा फोहोर, अन्य गन्ध एवं ढुसी कीरा, कीराको निष्कासित पदार्थ तथा अन्य हानिकारक पदार्थ हुनुहुँदैन ।

यसमा कुनै पनि बाह्य रङ प्रयोग गर्न नपाइने उल्लेख छ । ‘चिउरा स्वाभाविक स्वाद, रङ र बास्नायुक्त हुनुका साथै चिउरामा जलांश बढीमा १३ प्रतिशत, कुल भष्म प्रतिशत बढीमा १.३ प्रतिशत (सुक्खा तौलका आधारमा) गुणस्तर परिधिअनुरूप हुनुपर्छ,’ राजपत्रमा भनिएको छ । डाइल्युट हाइड्रोक्लोरिक एसिडमा नघुल्ने भष्म बढीमा ०.३ प्रतिशत, अल्कोहलिक अम्लता बढीमा ०.२ प्रतिशत, अजैविक बाह्य पदार्थ बढीमा ०.१ प्रतिशत, जैविक बाह्य पदार्थ बढीमा ०.५ प्रतिशत हुनुपर्ने उल्लेख छ ।

अजैविक बाह्य पदार्थ भन्नाले ढुंगा, बालुवा, माटोलगायत हुन् । जैविक बाह्य पदार्थ भन्नाले चिउरा बाहेकका अन्य खाद्यरअखाद्य दाना, भुस, चोकर, परालका टुक्रालगायत हुन् ।

दालमोठमा पनि प्राकृतिकबाहेक अन्य रङको प्रयोग गर्न पाइँदैन । भुजियामा पनि प्राकृतिकबाहेक अन्य रङको प्रयोग गर्न नपाइने उल्लेख छ ।

दालमोठ, भुजिया तथा मिक्स दालमोठ सफा सुक्खा, उपयुक्त रङ, स्वाद, स्वाभाविक बास्ना भएको र खाँदा झुरुम्म गर्ने हुनुपर्नेछ । साथै जलांश प्रतिशत बढीमा ५ प्रतिशत हुनुपर्छ । डाइल्युट हाइड्रोक्लोरिक एसिडमा नघुल्ने भष्म बढीमा ०.१ प्रतिशत, चिल्लो पदार्थ आलु भुजियाका लागि बढीमा ५५ र अन्यका लागि बढीमा ४५ प्रतिशत हुनुपर्ने उल्लेख छ । पुस्टकारीमा पनि जलांशको मात्रा बढीमा ६ प्रतिशत र घटीमा (सुक्खा तौलका आधारमाा) ८ प्रतिशत मात्र हुनुपर्छ ।

एक्सट्र्याक्टेड फ्याटको एसिड भ्यालु बढीमा ६ प्रतिशत, प्रोटिन घटीमा ८ प्रतिशत, कुल भष्म बढीमा ३ प्रतिशत, एसिडमा नघुल्ने भष्म बढीमा ०.३ प्रतिशत र इस्ट र मोल्ड गणना बढीमा २५ हुनुपर्ने उल्लेख छ । पुस्टकारी परम्परागत दुग्धजन्य प्रशोधित खाद्य पदार्थ हो ।

यसलाई चिनी, सक्खर वा चिनीजन्य पदार्थमा खुवा, दूध र घिउ, नरिवल, बदाम, सुकाएका फलफूल, ल्वाङ, सुकमेल आदि राखी पकाइन्छ । गुदपाकमा कुनै पनि प्रकारको वनस्पतिजन्य घिउ, तेल प्रयोग नभएको हुनुपर्ने राजपत्रमा उल्लेख छ । यो अस्वाभाविक गन्ध, स्वाद, बाह्य पदार्थरहित हुनुपर्ने जनाइएको छ ।

यसमा जलांश बढीमा २५ प्रतिशत, चिल्लो पदार्थ घटीमा ८ प्रतिशत, प्रोटिन घटीमा ८ प्रतिशत, कुल भष्म बढीमा ४ प्रतिशत, एसिडमा नघुल्ने भष्म बढीमा ०।४ प्रतिशत हुनुपर्ने उल्लेख छ । मापदण्डअनुसार एकपटक उत्पादन भइसकेको दुग्धजन्य वा अन्य प्रकारको मिठाई पुनः प्रयोग गर्न पाइँदैन ।

उत्पादन, प्रशोधन, प्याकेजिङ, ह्यान्डलिङ, भण्डारण तथा ढुवानी गर्दा स्वच्छतासम्बन्धी अन्य मापदण्ड कृषि मन्त्रालयले तोकेबमोजिम हुनुपर्छ ।

प्याकेजिङ तथा लेबलिङका क्रममा सफा र सुक्खा, खाद्य ग्रेडको प्याकेजिङ सामग्रीमा सिलबन्दी गरी प्याक गर्नुपर्ने उल्लेख छ । ‘यसबाट प्याक गरिएको खाद्य पदार्थमा कुनै अस्वाभाविक स्वाद, गन्ध, रङ वा अन्य कुनै हानिकारक पदार्थ आउने हुनुहुँदैन,’ राजपत्रमा भनिएको छ, ‘लेबलमा खाद्य नियमावली २०२७ ले तोकेबमोजिमको विवरण उल्लेख गर्नुपर्छ ।’ मापदण्डलाई पूर्ण रूपमा कार्यान्वयन गरिने विभागका महानिर्देशक उपेन्द्र रायले जानकारी दिए । ‘अब यी वस्तुको नमुना संकलन र परीक्षणको काम हुन्छ,’ उनले भने, ‘मापदण्ड विपरीत देखिए खाद्य ऐन अनुसार कारबाही गर्छौं ।’ आजको कान्तिपुर दैनिकबाट

prabhu mahalaxmi
kumari