stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेपाली नर्सको नयाँ गन्तव्य खाडी

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नर्सिङ विषय अध्ययन गरेका जनशक्ति स्वदेशमै अवसर नपाएपछि विदेशतिर पलायन हुने गरेका छन् । स्वदेशमा न्यून सुविधामा काम गर्नुपर्ने बाध्यता भएपछि उनीहरू विदेशतिर आकर्षित भएका हुन् ।

नेपालबाट नर्सिङ उत्तीर्ण भएपछि उनीहरूको पहिलो आकर्षण अमेरिका, क्यानडा, अस्ट्रेलिया बेलायतसहितका विकसित मुलुक हुने गरेको छ  तर पछिल्लो समय साउदी अरेबिया, दुबई, कतार, कुबेतलगायतका देशप्रति उनीहरूको आकर्षण बढ्न थालेको छ ।

नेपाल नर्सिङ सङ्घका कोषाध्यक्ष कल्पना श्रेष्ठले पछिल्लो समय ‘करियर बनाउनकै लागि’ साउदी, दुबई, कतार, कुबेत, बहराइनसहितका देशलाई नेपाली नर्सले गन्तव्य बनाएको बताउनुभयो । उहाँले थोरै खर्चमा खाडी मुलुक गएर राम्रो आम्दानी हुने भएकाले नर्सहरू खाडीका देशमा जाने गरेको बताउनुभयो ।

नर्सिङ क्षेत्रबाट जनशक्ति बाहिरिने क्रम नरोकिए नेपालमा नर्स खोज्नुपर्ने अवस्था आउन सक्ने बताउँदै उहाँले नेपालमा रोजगारी नपाएर वा कम मूल्यमा श्रम गर्नुपर्ने भएकाले नर्स बिदेसिने गरेको प्रस्ट पार्नुभयो ।

राम्रो आम्दानी

विराटनगरबाट तीन महिनाअघि साउदी जानुभएकी नर्स विज्ञता शर्मा (नाम परिवर्तन) ले साउदीमा महिनामा एक लाख २५ हजार रुपियाँ कमाइरहेको बताउनुभयो । उहाँका अनुसार बस्न र खानका लागि अस्पतालले व्यवस्थापन गरिदिएको छ, कमाएको पैसा सबै बचत हुन्छ ।

उहाँ नेपालमा विद्यालय नर्स हुनुहुन्थ्यो । विद्यालय नर्स पाँचौँ तहको पद हो । उहाँले भन्नुभयो, “नेपालमा हुँदा खर्च धान्नै मुस्किल हुन्थ्यो । अहिलेको तलबबाट एक लाख रुपियाँ बचाएर घरमा पठाउने गरेकी छु ।”

भेरिफिकेसन लेटर लिने ४० हजार

नेपाल नर्सिङ काउन्सिलमा ‘भेरिफिकेसनपत्र’ लिएर विदेश जाने नर्स ४० हजार ५३९ जना रहेका छन् । यो तथ्याङ्क २०८० चैतसम्मको हो ।

नर्सिङ काउन्सिलका अध्यक्ष प्रा. सरला केसीले २०८१ मा विदेश जाने नर्स धेरै रहेको र त्यसको तथ्याङ्क आउन बाँकी रहेको बताउनुभयो ।

काउन्सिलमा ८२ हजार ४७१ जना नर्स दर्ता छन् । तीमध्ये ४० हजारभन्दा बढीले विदेश जानका लागि ‘भेरिफिकेसन लेटर’ लिएका छन् ।

अध्यक्ष केसीका अनुसार २०६९ सालमा ११५ जनाले विदेश जान ‘भेरिफिकेसन’ लिएका थिए । यो सङ्ख्या २०७९ मा छ हजार आठ जना र २०८० मा आठ हजार १६३ जना पुगेको छ ।

काउन्सिलका अनुसार अमेरिकाका लागि सबैभन्दा बढी २३ हजार ३७० नर्सले भेरिफिकेसनपत्र लिएका छन् । यस्तै अस्ट्रेलियाका लागि ११ हजार २८९, दुबईका लागि दुई हजार ८०४, डेनमार्कका लागि ६४७, बेलायतका लागि ६८५, क्यानडा ४६१, न्युजिल्यान्ड १७७, आयरल्यान्ड ८६, कतार ३८६, कुबेत २६८, संयुक्त राष्ट्रसङ्घीय मिसन २१७, जर्मन ३६, भारत ३५, फिनल्यान्ड आठ, माल्दिभ्स ३०, हङकङका लागि ५३ जना नर्सले ‘भेरिफिकेसन लेटर’ लिएका छन् ।

प्रमाणीकरण नगरी जाने उत्तिकै

काउन्सिलकी अध्यक्ष केसीले काउन्सिलमा भेरिफिकेसन नगरी विदेश जाने नर्सको सङ्ख्या प्रशस्त रहेको बताउनुभयो । उहाँले साउदीमा आठ सय नर्समा कसैले पनि भेरिफिकेसन नलिएको जानकारी दिनुभयो ।

नेपाली नर्स बर्सेनि आठ हजारभन्दा बढी बिदेसिनु नेपालका लागि राम्रो नभएको भन्दै उहाँले नेपालमा राज्यले सेवा सुविधा दिन नसक्दा नर्सहरू विदेश जाने गरेको बताउनुभयो ।

साउदी सबैभन्दा आकर्षक

खाडीमा नेपाली नर्सको सबैभन्दा बढी आकर्षण साउदीमा छ । त्यहाँ अस्पतालमा काम गर्न पाउने, निःशुल्क जान पाउने, अनुभव नचाहिने, खान र बस्ने सुविधाले साउदी जान नेपाली नर्स आकर्षित भएका हुन् ।

साउदी जाने नर्स व्यक्तिगत रूपमै जान्छन् । उनीहरूलाई नर्सिङ काउन्सिलको भेरिफिकेसनको आवश्यकता पर्दैन । अस्पताललाई शङ्का लागेको अवस्थामा मात्र भेरिफिकेसनका लागि पठाउने गरेको छ । साउदीमा स्नातक गरेर गएका नर्सलाई अनुभव चाहिँदैन ।

खाडीमा जाने नर्सहरू म्यानपावर कम्पनीमार्फत जाने गरेका छन् । विगत तीन वर्षमा आठ सयभन्दा बढी नर्सलाई खाडी मुलुक पठाएको दाबी गर्ने एक म्यानपावर कम्पनीका अनुसार सुरुमै दुई लाख २० हजार रुपियाँ तलब हुन्छ ।

यस्तै पिसिएल गरेर गएका नर्सलाई भने एक वर्षको अनुभव हुनुपर्ने तलब एक लाख २० हजारदेखि एक लाख ६० हजार रुपियाँसम्म हुने गर्दछ । खान र बस्न अस्पतालले दिने हुँदा त्यहाँ काम गर्ने नर्सलाई सहज छ ।

साउदीको डाक्टर सुलेमान अल हबी अस्पतालमा मात्र तीन सय नेपाली नर्स कार्यरत छन् । त्योबाहेक अलमवासात अस्पतालमा ५० जना, ओजन मेडिकल ग्रुपमा ९० जना नेपाली छन् । अन्य अस्पतालमा नेपाली नर्स कार्यरत छन् ।

खाडी देशमध्ये आठ सय नर्स साउदीमा मात्र कार्यरत छन् । कतार तथा दुबईमा तीन सयदेखि चार सय नर्स कार्यरत छन् । दुबईमा होम केएरमा बढी नेपाली नर्स कार्यरत छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ।

prabhu mahalaxmi
kumari bank
kumari