stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अनलाइनबाटै कर तिर्न सकिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

चितवन । आन्तरिक राजश्व कार्यालयमा अनलाइनबाट विवरण र राजश्व बुझाउन सकिने भएको छ । करदाताले बिक्री भएका र अग्रिम कर काटेर राखेको रकम कर कार्यालयलाई असार ७ गतेभित्र बुझाउन सूचना जारी गरेको छ ।

आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख शुभप्रसाद रिजालले फागुन, चैत र वैशाखमा उठाएको मूल्य अभिवृद्धि कर र अन्तःशुल्क रकम असार ७ गतेभित्र भुक्तानी गर्न सूचित गरिएको बताए ।

उनका अनुसार अग्रिम कर कट्टी रकम र चैत महिनामा भुक्तानी गर्नुपर्ने चालू वर्षको दोस्रो किस्ताको आयकरको रकम पनि सोही समयमा भुक्तानी गर्नुपर्ने छ । लकडाउनको समयमा करदाताले मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको काम नगरेको भए पनि विवरण भने बुझाउनुपर्ने छ ।

करदाताले उठाएर कार्यालयलाई तिर्न राखेको रकम मात्र भुक्तानी गर्न भनिएको उनको भनाइ छ । लकडाउनले हिँडडुल गर्न अप्ठ्यारो परेमा आन्तरिक राजश्व विभागको वेबसाइट www.ird.gov.np मा गई आफूले भर्नुपर्ने विवरण भरेर आफ्नो फार्मको खाताबाट सोझै राजश्व कार्यालयको खातामा भुक्तानी गर्न सकिने छ ।

जसका लागि अप्ठ्यारो छ उनीहरुले सम्बन्धित बैंकबाट भुक्तानी गर्न सकिने उनले बताए । लकडाउनका समयमा अतिरिक्त कर तिर्न नभनेको भन्दै उनले भने, “करदाताले कार्यालयलाई तिर्न विभिन्न माध्यमबाट सङ्कलन गरेको कर तिर्नु भनेको हो ।” फागुनअघिका महिनाका विवरण र करका लागि भने म्याद थप नभएको उनले स्पष्ट पारे।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले अहिले लकडाउनै भएकाले कम्तीमा असार २५ गतेसम्म समय दिनुपर्ने बताए। लकडाउनका कारण व्यवसाय बन्द भएकाले सङ्कटको समयमा कर तिर्ने पैसा कर्मचारीको तलबलगायतमा खर्च भएको भन्दै लकडाउन खुलेपछि मात्र कर तिर्न सहज हुने उनले बताए ।

यस कार्यालयमा करिब ६० हजार करदाता रहेका छन् । चितवन र नवलपुर जिल्ला हेर्दै आएको यस कार्यालयले गएको वैशाखसम्म २१ अर्ब रूपैयाँ राजश्व सङ्कलन गरेको छ । त्यस अवधिको लक्ष्य ३५ अर्ब रूपैयाँ रहेको थियो । यस वर्षको लक्ष्य ४३ अर्ब रूपैयाँ रहेको छ ।  रासस

prabhu mahalaxmi
kumari