सडकमा देखियो लकडाउनको ७१ दिन लकडाउन खुलेको आभास

आर्थिक सञ्जाल
काठमाडौं । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारि भएपनि उपत्यकाका मूख्य सडकहरुमा सवारी साधनको चाप बढ्दै गएको छ ।
लामो समय सम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको र मानिसहरु काममा निस्किन थालेपछि उपत्यकाका मुख्य सडकमा सवारी साधनको चाप बढेको हो । मंगलबार देशका प्रमुख शहरहरुमा सवारीसाधनको आवागमन बढेको पाइएको छ । प्रहरीले पनि चेकजाँचलाई केही खुकुलो बनाएको छ ।
अत्यावस्यक सेवाका सवारी साधन र पास लिएका बाहेकलाई पनि सोधपुछ गरी पठाउने गरेको छ । कामबिना सवारी सञ्चालन गर्नेलाई भने नियन्त्रणमा लिई कारबाही गरेको छ ।
उपत्यकाका भित्रि सडकमा रहेका अत्यावस्यक खाद्यन्न तथा तरकारी पसलहरु बिहान र साँझको समयमा खुल्ने गरेका छन भने मानिसहरु आफ्नो घर नजिकको पसल सम्मपुगेर किनमेल गरिरहेको देखिन्छ ।
यस्तै मंगलबार लकडाउनको ७१ दिन पुगेको छ । सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ । जेठ २० गते सम्मकालागि तोकिएको लकडाउन शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३२ गते सम्मका लागि लम्ब्याउने निर्णय गरेको थियो ।
तर यस बिचमा लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा छलफल भइराखेको बताइएको छ ।
शनिबारको मन्त्रिपरिषद्को बैठकले लकडाउनको नयाँ ढाँचा तयार गर्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन समेत दिएको थियो ।
सोही निर्देशन अनुसार समितिले आज लकडाउनको मोडालिटीमा छलफल गर्न बैठक आह्वान गरेको छ । लकडाउन जारी हुँदा चैत ११ गते दुईजना मात्रै संक्रमित रहेकोमा अहिले लकडाउनको ७१ दिन पुग्दा १ हजार ८ सय ११ पुगेको छ । यसबीचमा ८ जनाको मृत्यु पनि भइसकेको छ ।
लकडाउन भएपनि संक्रमितको संख्याको वृद्धिदर बढ्दै जाने र अर्थतन्त्रमा पनि गम्भिर असर पर्दै जाने भएकाले लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा सरकारलाई दबाब पर्दै गएको छ ।