अब लक डाउन अवधिभर काठमाडौं जिल्लाबाट जारी पास मान्य हुने

आर्थिक सञ्जाल
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाका लागि गत जेठ २ गते जारी गरेको निलो रंगको पास अब नवीकरण गर्नु नपर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गर्दै यसअघि जेठ २० सम्मका लागि जारी पास अब लक डाउन भर मान्य हुने जानकारी दिएको हो ।
साथै, काठमाडौं जिल्ला प्रशासनले अत्यावाश्यक सेवामा खटिनेहरुका लागि जारी भएका पास पनि नवीकरण गर्न नपर्ने जनाएको छ ।
यसअघि त्यस्ता पास ७ दिनको म्यादपछि नवीकरण गर्नुपर्ने व्यवस्था रहेको थियो । त्यस्तै, सवारी पासका लागि कार्यालय बाहिर सेवाग्राहीको भीडभाड बढ्न गई संक्रमण हुन सक्ने भएकाले यही जेठ २१ बाट सवारी पासका लागि निवेदन र प्रमाण खुल्ने कागजात इमेलमा पठाउन भनेको छ ।
पास तयार भएको जानकारी प्राप्त भएपछि मात्र कार्यालयमा सम्पर्क गर्न पनि भनिएको छ ।