सरकारकाे तयारी जेठ ३२ अघि नै लकडाउनको मोडल फेर्ने

आर्थिक सञ्जाल
काठमाडौं । सरकारले लकडाउनको मोडल फेर्ने तयारी गरेको छ । यसअघि जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याईए पनि त्यसअघि नै कोरोना संक्रमणको जोखिम हेरेर कम जोखिमका क्षेत्रमा लकडाउन खुकुलो पार्ने तयारी गरिएको हो ।
उच्चस्तरीय समन्वय समितिले विज्ञको समेत राय लिएर कम जोखिम भएको क्षेत्रमा जनजीवन सामान्य बनाउने विषयमा प्रस्ताव तयार गर्ने भएको छ ।
मन्त्रिपरिषदको शनिबारको बैठकले जेठ ३२ सम्म लकडाउन निरन्तर गर्ने तर यसबीचमा सरोकारवाला र विज्ञहरुको राय सुझाव र अरु देशका अनुभव समेत हेरेर लकडाउनको मोडालिटी हेरफेर गर्ने निणर्य गरेको थियो ।
उच्चस्तरीय समन्वय समितिको एक दुई दिन भित्रै बस्ने बैठकमा राय सुझाव लिएर लकडाउन विस्तारै खुलाउँदै जनजीवन सामान्य अवस्थामा फर्काउनेबारे छलफल हुने समिति सदस्य समेत रहेका पर्यटन मन्त्री योगेश भट्टराईले बताए । लकडाउन हटाउन दबाब दिदै गर्दा महामारी नियन्त्रण बाहिर जाने खतरा तर्फ पनि विचार गर्नुपर्ने उनले बताए ।
कोरोनो संकट व्यवस्थापन समिति (सीसीएमसी)ले संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र एलो जोनको सिफारिस गरेको छ । काठमाडौं लगायतका क्षेत्रमा लकडाउन खुकुलो बनाउने तर स्कूल कलेज, सिनेमा हल लगायत भिडभाड हुने क्षेत्रहरु भने बन्दै रहने गरि छलफल भइरहेको छ । स्वास्थ्य मन्त्रालयले पनि लडकाउनेका बारेमा आफ्नो सुझाव दिइसकेको छ ।