रोटरी क्लबले ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

आर्थिक सञ्जाल
काठमाडौं । रोटरी क्लब, पशुपतिले कोरोना महामारीको रोकथाम र नियन्त्रणमा जुटिरहेका ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । उक्त रोटरी क्लवले केएन ९५ मास्क १५०० थान र २७.५ लिटर सेनिटाईजर महाशाखालाई हस्तान्तरण गरेकाे हाे ।
महाशाखामा शुक्रबार एक कार्यक्रमबीच रोटरी क्लबका अध्यक्ष हर्क साउदले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठका अनुसार उक्त सामग्रीहरू सम्पूर्ण ट्राफिक प्रहरीलाई वितरण गरिने बताए ।
महाशाखा प्रमुख ढकालले कोरोना भाइरसको जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई कडाईका साथ पालना गराउन अग्रपङ्तिमा रही आम नागरिकको सेवा र सुरक्षामा सक्रिय रूपमा ट्राफिक प्रहरी खटिएको बताए । उनले यस बिषम परिस्थितिमा ट्राफिक प्रहरीलाई उक्त स्वास्थ्य सामग्रीले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि महत्वपूर्ण भुमिका खेल्नुका साथै थप हौसला र उच्च मनोबल समेत मिल्ने भएकोले रोटरी क्लब, पशुपतिले गरेको सहयोग एवम् सदभाव प्रति विशेष धन्यवाद दिएका छन् ।
कार्यक्रममा रोटरी क्लबका अध्यक्ष हर्क साउदले माहामारीको यस घडीमा नागरिकको सेवामा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई संक्रमणको जोखिमबाट बच्न र काम गर्ने मनोबल थप उच्च हुने बिश्वासका साथ स्वास्थ्य सामग्री प्रदान गरिएको हो । आगामी दिनमा पनि ट्राफिक प्रहरीलाई यस्तै सहयोग एवम् सहकार्य गरी निरत्तर अगाडि बढ्न क्लव तत्पर रहेको उनले उल्लेख गरेका छन् ।