दुग्ध उद्योगमा ३ अर्ब नोक्सान, लक डाउन लम्बिए झन् समस्या

आर्थिक सञ्जाल
काठमाडौं । नेपाल डेरी एसोसिएसनले दुग्ध क्षेत्रमा परेको गम्भीर समस्यालाई समेटेर आगामी आर्थिक वर्ष २०७७/०७८ बजेटमा राहत प्याकेज घोषणा गर्न माग गरेको छ ।
राहतका लागि राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत सम्बन्धित निकायलाई अनुरोध गरिएको भन्दै एसोसिएसनले सोमबार भिडियो कन्फ्रेस मार्फत पत्रकार सम्मेलन गरी आफ्ना माग सार्वजनिक गरेको हो ।
दुग्धजन्य पदार्थको मुख्य याममा नै बन्दाबन्दीका कारण ८० प्रतिशत बजार गुम्न गएको उसको भनाई छ । यसबाट उत्पादन लागतमा वृद्धि हुँदा किसानलाई भुक्तानीदेखि घरभाडा, बिजुली र कर्मचारीको तलब भुक्तानीमा समेत समस्या भएको एसोसिएसनका महासचिव प्रल्हाद दाहालले जानकारी दिए । उनका अनुसार मौज्दात राखिएको धुलो दूध र नौनीको म्याद सकिन लाग्दा ५ अर्ब नोक्सान थपिने अनुमान गरिएको छ ।
डेरी सञ्चालकलाई सरकारले बिनाधितो उद्योगको प्रमाणपत्रका आधारमा ५ वर्षका लागि सहुलियत दरको ऋण उपलब्ध गराउन पनि माग गरिएको छ ।
संस्थाका अनुसार दुग्धजन्य पदार्थ खपतको मुख्य याममा बन्दाबन्दीका कारण नोक्सानी व्यहोरेका डेरी सञ्चालकलाई मौज्दात राखिएका पदार्थको म्याद सकिने अर्को चिन्ता थपिएको छ ।
पर्याप्त मात्रामा दुग्धजन्य पदार्थको मौज्दात रहँदा किसानलाई भुक्तानीदेखि कर्मचारीलाई तलब, घरभाडा तथा बिजुलीलगायतका खर्च यथावत् रहँदा व्यवस्थापनमा समस्या भयो ।’