ईसीएचओ र यूएनडीपीद्वारा दोलखाका विपन्न परिवारलाई भौतिक सामाग्री वितरण

आर्थिक सञ्जाल
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको कारण अहिले विश्व त्रसित बनेको अवस्था छ । यसबाट हाम्रो जस्तो अविकसित राष्ट्र पनि अछुतो रहन सकेन ।
कोरोना भाइरसबाट भौतिक क्षति त भएकै छ अर्कोतर्फ यसको प्रत्यक्ष असर भोग्न बाध्य छन् निम्न आय भएका ज्यालादारीमा रोजीरोटि चलाउने मजदुर, विपन्नवर्ग र अशक्त नागरिकहरु ।
यिनै समस्यालाई मध्यनजर गर्दै यूरोपेली आयोग मानविय सहयोग तथा मानविय सुरक्षा विभाग (ECHO) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) दोलखा भिमेश्वर नगरपालिका र शैलुङ्ग गाऊँपालिकाका विभिन्न निकाय र विपन्न परिवारलाई भौतिक सामाग्री वितरण गरेको छ ।
यस अन्तर्राष्ट्रिय संस्थाले आफनो साझेदार संस्था मार्फत जिल्लाको १० वटा वडाका सात सय अति बिपन्न र संकटामा परेका परिवारलाई जिबिकोपार्जन सहयोगका लागि कृषि सामाग्री टनेल प्लाष्टिक, पाइप, बिउबिजन लगायतका कृषिजन्य सामाग्री वितरण गरेको छ ।
विपन्न परिवारलाइ मात्र नभएर संस्थाले भाइरस रोकथामका लागि पालिकामार्फत क्वारेन्टाइन सेन्टर र स्वास्थ्य संस्थालाई चिकित्सकिय र खानेपानी, सरसफाइ तथा स्वच्छता प्रर्वधन सम्वन्धि सामाग्री थर्मल गन, पि.पि.इ सेट, स्यानिटाइजर, वाटर फिल्टर, साबुन आदि लगायतका स्वास्थ्व सामाग्री वितरण गरेको छ ।
वितरण सामाग्री बुझ्दै शैलुङ्ग गाऊँपालिकाका प्रमुख भरत दुलालले विपतको घडिमा स्थानियस्थरको समस्यालाई ध्यानमा राख्दै यूरोपेली आयोग (ECHO) र (UNDP) ले गरेको स्वास्थ सुरक्षा र कृषिजन्य सामाग्री वितरणले स्थानिय समुदायलाई ठुलो राहत पुगेको भन्दै खुसी व्यक्त गरेका थिए ।
त्यस्तै UNDP/CDRMC परियोजना संयोजक प्रभाकर थापाले मुलुकको संवेदनशीलतालाई ध्यानमा राख्दै सहयोगको आवश्यकता र विपन्न परिवारको समस्या पहिचान गरी संस्थाको माध्यम द्वारा आवश्यक सामाग्री वितरण गरिएको जानकारी दिए । संयोजक थापाले आगामी दिनमा पनि आवश्यकता अनुसार विपन्न र दैनिक ज्याला मजदुरीमा जीवनयापन गर्ने र यो समयमा मुखको माडबाट वन्चित समुदायलाई सहयोग गर्दै जाने धारणा व्यक्त गरे ।
यूरोपेली आयोग मानविय सहयोग तथा मानविय सुरक्षा विभाग(ECHO) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP)ले आफनो साझेदार संस्था मार्फत दोलखा जिल्लाको भिमेश्वर न.पा र शैलुङ गाऊँपालिकामा सन् २०१७ देखि पूनर्निमाण, बिपद जोखिम ब्यबस्थापन र जिविको पार्जनको क्षेत्रमा आफ्नो परियोजना मार्फत काम गर्दै आइरहेको छ ।