stcnepal long ad
ime life insurance
global ime bank long

मलेसिया बन्यो फेरि पहिलो श्रम गन्तव्य

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्यका रूपमा मलेसिया पुनः दरिन थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार चार महिनायताको श्रम स्वीकृतिको तथ्याङ्कका आधारमा मलेसिया नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य बनेको हो ।

विभागका अनुसार गत फागुनमा १२ हजार ६०१, चैतमा १८ हजार ६४९, वैशाखमा १७ हजार २५२ र जेठमा १४ हजार १९२ जनाले मलेसियाका लागि श्रम स्वीकृति लिएका छन् । माघसम्म भने संयुक्त अरब इमिरेट्स (युएई) नेपालीको पहिलो श्रम गन्तव्य थियो । पश्चिम एसियाको द्वन्द्वका कारण मलेसिया पहिलो श्रम गन्तव्य देश बनेको जनाइएको छ ।

चालु आवको साउन, भदौ र असोजसम्म पाँचौँ स्थानमा खुम्चिएको मलेसिया पछिल्लो समय एकाएक पहिलो स्थानमा उक्लिएको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक मीरा आचार्यले पछिल्लो पटक मलेसियामा बढ्दो सङ्ख्याले मलेसियाको श्रम बजारमा नेपाली श्रमिकको माग र आकर्षण दुवै बढेको पुष्टि गरेको बताउनुभयो ।

मलेसिया सरकारले ल्याएको नयाँ श्रम नीतिसँगै उत्पादन वा निर्माण क्षेत्रमा श्रमिकको माग बढेकाले पछिल्लो समयमा मलेसिया पहिलो गन्तव्य बन्न पुगेको श्रमका जानकार रामेश्वर नेपालको बुझाइ छ । उहाँका अनुसार खाडी देशको तुलनामा मलेसियामा न्यूनतम पारिश्रमिक र त्यहाँ पाइने सेवासुविधा (ओभरटाइम, स्वास्थ्य बिमा, बसोबास) र सुरक्षाका हिसाबले पनि राम्रो भएकाले मलेसियामा आकर्षण बढेको हो ।

विभागको तथ्याङ्क अनुसार गएको जेठमा ६१ हजार ७२ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।  जस अनुसार ५३ हजार ६९८ जना पुरुष र सात  हजार ३७४ जना महिला छन् ।

यस अवधिमा मलेसियापछि दोस्रो गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) का लागि १२ हजार ४५५, कतारका  लागि १० हजार २१० र साउदी अरबका लागि सात हजार ५१९ जनाले स्वीकृति पाएका छन् । युरोपेली मुलुकमा रोमानिया (दुई हजार ५१५ जना) र क्रोएसिया (२७६ जना) जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

श्रमिक जाने स्थानगत आधारमा धनुषा जिल्ला अग्रस्थानमा छ । जेठमा धनुषा जिल्लाबाट सबैभन्दा बढी दुई हजार ८३१ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसै गरी झापाबाट दुई हजार ६४४, मोरङबाट दुई हजार ४५३, सिराहाबाट दुई हजार ४२८ र महोत्तरीबाट दुई हजार २४४ जना वैदेशिक रोजगारीमा गएका छन् ।

prabhu mahalaxmi
kumari