stcnepal long ad
ime life insurance
national life
global ime bank long

गुणस्तर सम्बन्धी नयाँ ऐनको तयारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल २०७७ जेठ ९ गते शुक्रबार 

काठमाडौ ।  सरकारले तोके अनुसार नेपाल गुणस्तर प्रमाणपत्र (एनएस) चिह्न प्रयोग नगरेमा वा नक्कली प्रयोग गरेमा १० लाख जरिवाना हुने व्यवस्था सहितको (एनएस) चिह्न सम्बन्धी नयाँ ऐन ल्याइने तयारी भएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले विद्यमान एनएस चिह्नसम्बन्धी ऐन समयानुकूल नभएको भन्दै कडा कारबाहीको व्यवस्थासहितको मस्यौदा तयार गरेको हो ।
प्रस्तावित ऐनमा कुनै वस्तु, सेवामा सरकारले तोकेअनुसार एनएस चिह्न प्रयोग नगरेमा वा नक्कली प्रयोग गरेमा १० लाख रुपियाँ जरिवाना वा एक वर्षको जेल सजाय वा दुवै हुने व्यवस्था गरिएको छ । विभागले तयार पारिरहेको नेपाल गुणस्तर (प्रमाण–चिह्न) ऐन, २०७७ को मस्यौदामा उक्त प्रावधान उल्लेख गरिएको छ ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नयाँ बन्न लागेको ऐनमा दण्ड सजायको प्रावधान समयानुकूल र स्पष्ट बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो । विद्यमान गुणस्तर चिह्नसम्बन्धी ऐन २०३७ तत्कालीन समयका लागि ठीक भए पनि अहिलेको अवस्थामा व्यावहारिक नभएकाले नयाँ बनाउन लागिएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रस्ताविक नयाँ ऐनमा कुनै वस्तु, सेवा वा प्रक्रियाको उत्पादन वा निर्माता वा वितरक वा सेवा प्रदान गर्ने व्यक्ति वा संस्थाले विभागले तोकेको मापदण्ड पूरा गर्नुपर्ने बाध्यकारी प्रावधान गरिएको छ जुन विद्यमान ऐनमा त्यो व्यवस्था छैन ।
विभागले यस क्षेत्रमा क्रियाशील विज्ञसँग छलफल गरेर तयार पारेको मस्यौदामा कुनै वस्तु, सेवा, प्रक्रिया वा प्रणालीको निकासीमा सरकारले मापदण्ड तोक्नसक्ने र उक्त मापदण्ड अनुसारको गुणस्तर चिह्न प्रयोग नभएको खण्डमा दस लाख जरिवाना वा एक वर्ष जेल वा दुवै हुनसक्ने प्रस्ताव गरेको छ ।

यस्तै गुणस्तर चिह्न लिनुपर्ने वस्तु वा सेवामा नलिई बिक्री वितरण गरेको पाइएको खण्डमा भने पाँच लाख रुपियाँ जरिवाना वा छ महिना जेल वा दुवै सजाय हुने व्यवस्था प्रस्तावित ऐनको मस्यौदामा गरिएको छ । मस्यौदामा दण्ड सजाय र क्षतिपूर्तिको पक्षमा स्पष्ट प्रावधान पनि प्रस्ताव गरिएको छ ।
विद्यमान ऐन चार दशक पुरानो भएकाले कारबाहीका प्रावधान स्पष्ट नहुँदा निलम्बन गरेपछि पनि के गर्ने भन्ने अन्योल थियो । महानिर्देशक पुडासैनीले विद्यमान ऐनमा कुनै पनि कसुरविरुद्ध मुद्दा चलाउने अधिकार विभागको सिफारिसमा जिल्ला प्रशासनलाई तोकिएकाले मुद्दाको कारबाही नै फितलो हुने समस्या धेरै भएको अनुभव सुनाउनुभयो ।

प्रस्तावित नयाँ ऐनको मस्यौदामा मुद्दा जिल्ला अदालतमा लैजाने प्रावधान राखेकाले यहाँबाट मुद्दा प्रक्रिया प्रभावकारी हुने उहाँको दाबी छ । महानिर्देशक पुडासैनीले प्रस्तावित ऐनलाई सङ्घीय संरचनालाई सम्बोधन गर्ने तरिकाले मस्यौदा तयार पारिएको र सङ्घीय संरचनाका सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा एकरूपता होस् भन्ने विषयलाई ध्यान दिएको बताउनुभयो ।
प्रदेश सरकारको अधिकारभित्र गुणस्तर चिह्न पनि पर्छ ।

प्रदेशअनुसारका मापदण्ड फरक हुँदा राम्रो नहुने भएकाले प्रदेश तहमा पनि कानुनी प्रक्रिया एउटै हुनेगरी ऐनको मस्यौदा तयार गरिएको छ । पुडासैनीले प्रस्ताविक ऐनको मस्यौदा छलफलकै चरणमा रहेकाले सम्बन्धित क्षेत्रका सरोकारवालासँग थप सुझाव मागेर यसलाई अन्तिम रूप दिइने पनि बताउनुभयो ।  आजको गोरखापत्र दैनिकबाट

IME Lifesidebar
kumari