citizens life insurance long ad
stcnepal long ad

चेरीको ३०० डलरको इलेक्ट्रिक मोपेड, रेन्ज एक्सटेन्डर बाइक पनि ल्याउने तयारी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चिनियाँ अटो निर्माता चेरीले करिब ३०० अमेरिकी डलर मूल्य पर्ने इलेक्ट्रिक मोपेड सार्वजनिक गर्ने तयारी गरेको छ । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयमा दर्तासम्बन्धी विवरण देखिएसँगै कम्पनीको नयाँ दुईपाङ्ग्रे विद्युतीय सवारी चर्चामा आएको हो ।

यो मोपेडको डिजाइन यामाहाको भिनो स्कुटरसँग मिल्दोजुल्दो देखिन्छ । यसको पछाडिको चक्कामा हब मोटर जडान गरिएको छ । यद्यपि, चेरीले यस मोपेडको आधिकारिक मूल्य र प्राविधिक विवरण सार्वजनिक गरिसकेको छैन ।

चीनमा यस्ता कम मूल्यका इलेक्ट्रिक मोपेड करिब २ हजार युआन अर्थात् ३०० डलरमा उपलब्ध छन् । सामान्यतया यस्ता मोपेडमा २ किलोवाट आवरभन्दा कम क्षमताको ब्याट्री हुने र एकपटकको चार्जमा ५० किलोमिटर वा सोभन्दा कम दूरी चल्ने बताइएको छ ।

चेरीले सस्तो मोपेडसँगै उच्च प्रविधियुक्त विद्युतीय मोटरसाइकलको विकासमा पनि काम गरिरहेको छ । कम्पनीले हालै आफ्नै प्रविधिसम्बन्धी कार्यक्रममा दुईवटा नयाँ मोटरसाइकलका अवधारणा प्रस्तुत गरेको थियो ।

तीमध्ये एउटा सिन्नोक्स ब्रान्डको पूर्ण विद्युतीय एड्भेन्चर स्कुटर हो, जसको दाबी गरिएको रेन्ज १५० देखि २०० किलोमिटरसम्म छ ।

अर्को ग्रो सी३ नामक रेन्ज एक्सटेन्डर विद्युतीय मोटरसाइकल हो । यसलाई बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिने गरी विकास गरिएको छ । यसले क्याम्पिङजस्ता गतिविधिमा जेनेरेटरको विकल्पका रूपमा काम गर्न सक्ने कम्पनीको दाबी छ ।

चीनको दुईपाङ्ग्रे सवारी बजारमा बढ्दो प्रतिस्पर्धाबीच चेरीले सस्तो मोपेडदेखि उन्नत विद्युतीय मोटरसाइकलसम्म विस्तार गर्ने रणनीति अघि बढाएको देखिन्छ ।

IME Life
kumari