stcnepal long ad
ime life insurance
national life
global ime bank long

वरिष्ठ फोटो पत्रकार मिनरत्न बज्राचार्य लगायत अन्य दसजनालाई सम्मान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काभ्रेपलान्चोक ।  काभ्रेपलान्चोकको बनेपामा राष्ट्रका ख्यातिप्राप्त १० जना व्यक्तित्वलाई सम्मान गरियो । शब्दयात्रा प्रकाशनको आयोजनामा भएको त्यस कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति नेपालका शैक्षिक शिरोभूषण डा. सुुरेशराज शर्माले प्रमुख अतिथिका रूपबाट सम्मानको अभिवन्दनापत्र, अतिथिका रूपबाट समाजसेवी सावित्री थापा, आख्यानकार भरत जङ्गम र नियात्राकार पोष चापागाईले किरीट, चयन समितिका संयोजक प्रा. केदारनाथ श्रेष्ठ, सदस्य द्रोणप्रसाद श्रेष्ठ र लीलादेवी श्रेष्ठले उपहार, सभापति शारदाप्रसाद शर्माले पुष्पमाला, पत्रकार प्रदीप केसींले रुद्राक्षमाला, उपस्थित कोष व्यवस्थापकहरू गोपाल पराजुली र हरिगोपाल प्रधान तथा अनुपस्थित कोष व्यवस्थापकहरूका तर्फबाट गीता अधिकारी, कृष्णमणि कुइकेल, पदम ढुङ्गाना र डा. इन्दुल केसीले नगद भेटी समर्पण गरेर उहाँहरूलाई सम्मान गर्नुभएको थियो ।

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले सञ्चालन गर्नुभएको त्यो कार्यक्रम हास्यव्यङ्ग्यकार शारदाप्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।

त्यस कार्यक्रममा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मानद्वारा शान्ता मानवी, जयदेव अधिकारी अनुसन्धान सम्मानद्वारा प्रा. डा. कुलप्रसाद कोइराला, देवीप्रसाद सापकोटा आमसञ्चार सम्मानद्वारा चूडामणि रेग्मी, कल्याण लम्साल सिर्जना सम्मानद्वारा शैलेन्द्र साकार र पद्मकला–भीमप्रसाद समालोचना सम्मानद्वारा डा. रामदयाल राकेश सम्मानित हुनुभएको थियो ।

त्यसै गरी विष्णुमाया–टीकाप्रसाद बालसाहित्य सम्मान विजय चालिसेलाई, वसन्त शर्मा कविता–काव्य सम्मान मनिराज जोशीलाई, कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान शेषराज सिवाकोटीको सम्पादकत्वमा प्रकाशित ‘ज्ञानगुनका कुरा’ लाई, षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान उद्धवप्रसाद भट्टराईलाई र वरिष्ठ फोटो पत्रकार/स्वतन्त्र पत्रकार, गीतकार एवं समाजसेवी (विश्वकीर्तिमानी) हरि गोपाल प्रधानबाट स्थापना गरिएको रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान मीनरत्न बज्राचार्यलाई समर्पण गरिएको थियो ।

कार्यक्रममा चूडामणि रेग्मी उमेरका कारणले उपस्थित हुन नसक्नुभएकाले उहाँको प्रतिनिधित्व गर्दै उपस्थित हुनुभएका नगेश निरौलाले उहाँको अभिवन्दनापत्र ग्रहण गर्नुभयो ।
सम्मानित व्यक्तित्वहरूका विषयमा पत्रकार शिव बन्जाराले चिनारी गराउनुभएको थियो भने अभिवन्दनापत्रको वाचन कवि पदम दाहालले गर्नुभएको थियो । स्वागत भाषण लेखिका निर्मला श्रेष्ठले गर्नुभएको थियो ।

शब्दयात्रा प्रकाशनले हरेक वर्ष २० जनालाई सम्मान, ८ जनालाई पुरस्कार, २ जनालाई छात्रवृत्ति र १ जनालाई विद्वतवृत्ति समर्पण गर्ने गरेको छ ।

हिजोकै कार्यक्रममा रोल्पा जिल्लाका प्रथम महाकाव्यकार खेमराज शर्माको महाकाव्य ‘माण्डवी’ लाई प्रमुख अतिथि डा. सुरेशराज शर्मा र कृतिकार खेमराज शर्माले संयुक्त रूपमा सार्वजनिक गरिएको थियो ।

महाकाव्य र महाकाव्यकारका विषयमा शिक्षासेवी तथा लेखक चन्द्रबहादुर खड्काले बोल्नुभएको थियो । उक्त पुस्तकसहित शब्दयात्रा प्रकाशनले प्रकाशन गरेका पुस्तकको सङ्ख्या १ सय ९८ पुगेको छ ।

उक्त कार्यक्रममा समाजसेवी सरस्वती श्रेष्ठलाई कदरपत्र समर्पण गरिएको थियो । कार्यक्रममा शब्दयात्रा प्रकाशन पुस्तकालयलाई लेखकहरू केशव रूपाखेती, विजय चालिसे, शेषराज सिवाकोटी र खेमराज शर्माले आआफ्ना पुस्तकहरू उपहार प्रदान गर्नुभएको थियो ।

सबै पुस्तकहरू पुस्तकालयका तर्फबाट सङ्गीता केसी र भावना थापाले ग्रहण गर्नुभएको थियो । कार्यक्रममा नैमिषारण्य संस्कृत गुरुकुलमका वटुकहरूले स्वस्तिवाचन गर्नुभएको थियो ।

वटुकहरूलाई आध्यात्मिक लेखक ढुण्डिराज पोखरेल र कवि केदारनाथ तिमल्सिनाले टीका र दक्षिणा प्रदान गर्नुभएको थियो ।

उपस्थितिमा सहयोग गणेश बडालले गर्नुभएको थियो । कवि गोविन्दबहादुर खड्काले सम्मान कार्यक्रम सम्बन्धी कविता वाचन गर्नुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि डा. सुरेशराज शर्मालाई हरिगोपाल प्रधानले शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा कार्यक्रमको समीक्षा गर्दै लेखक छत्रपति दाहालले कार्यक्रमलाई विसर्जन गर्नुभएको थियो । साथै पिता माता गोपाल प्रधान तथा रत्नदेवी प्रधानको स्मृतिमा नीलकण्ठेश्वरधाम परिसर, काभ्रेपलाञ्चोक बनेपामा बुद्धको मुर्ति स्थापना गरी अनावरण गरियो ।

IME Lifesidebar
kumari